भरतपुर, १२ असोज ।
युवा पुस्तामाझ सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा योगदान पुर्याएको भन्दै सीए सुनिल शर्मा सम्मानित भएका छन् ।
योङ्ग–नेपाल, भरतपुर–१३ ले आफ्नो ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा सोमबार शर्मालाई ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान–२०८३’ प्रदान गरेको हो ।
शर्माले आफ्नो पेसा र व्यवहारमार्फत युवापुस्तालाई सकारात्मक, सिर्जनशील तथा समाजप्रति उत्तरदायी बनाउन पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको योङ्ग–नेपालका संस्थापक अध्यक्ष विवेक पोख्रेलले जानकारी दिए ।
भरतपुर–१३, ब्रह्मपुरी निवासी शर्मा लेखापरीक्षणसँगै शिक्षा तथा सामाजिक क्षेत्रमा समेत सक्रिय छन् ।
युवा पुस्तामा सकारात्मक योगदान पुर्याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान’ स्थापना गरिएको हो । स्वर्गीय जयन्त आचार्य योङ्ग–नेपालका संस्थापक सदस्यमध्ये एक थिए ।
रेश्म तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति
यसैबीच, योङ्ग–नेपालको ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनले रेश्म तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सन्दिपा अधिकारी, सचिवमा अश्विन धिताल, कोषाध्यक्षमा निशा न्यौपाने तथा सदस्यमा संकल्प दवाडी, दर्पण अधिकारी, भावना सापकोटा र एन्जल ढुंगना चयन भएका छन् ।





