मकवानपुर, १३ असोज ।
हेटौंडाका एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका–४ का सर्मेन्द्र पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयलाई ७ हजार ५ सय रुपैयाँ बराबरका १३ थान पुस्तक उपहारस्वरूप प्रदान गरेका हुन् ।
पौडेलले हालै प्रकाशित विभिन्न पुस्तक पुस्तकालयकी व्यवस्थापक आकृति मानन्धरलाई हस्तान्तरण गरेका हुन् । साथीभाइको सल्लाहमा जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक सहयोग गरेको पौडेलले बताए ।
ज्ञान प्राप्तिका लागि उपयोगी पुस्तक सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै पौडेलले भने, “यहाँ पुस्तकालय छ भनेर यादै गरेको थिइनँ । आज साथीहरूको सल्लाहबमोजिम पुस्तक सहयोग गर्न आउँदा लोकसेवा तयारी गर्ने युवाहरू अध्ययन गरिरहेको देखेर खुसी लाग्यो । पुस्तक सहयोग गर्न पाउँदा पनि खुसी लागेको छ ।”
हेटौंडा उपमहानगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति पुस्तकालयको व्यवस्थापन साहित्य संगम मकवानपुरले गर्दै आएको छ । पुस्तकालयमा हालै उपमहानगरपालिकाको बजेटबाट समेत नयाँ पुस्तक थप गरिएको साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
पछिल्लो समय पुस्तकालयमा लोकसेवा आयोगको तयारी गर्ने युवाहरूको उपस्थिति बढ्दै गएको पुस्तकालयकी व्यवस्थापक मानन्धरले बताइन् ।





