भरतपुर, ११ असोज ।
पछिल्लो चार दिनमा देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र अविरल वर्षाका कारण २१ जनाको मृत्यु भएको छ । असोज ८ गतेदेखि आइतबार साँझसम्म भएका ४२६ वटा विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
पहिरोमा सबैभन्दा बढी मानवीय क्षति
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परी पहिरोका कारण १४, बाढीका कारण ४ र अविरल वर्षाका कारण ३ जनाको मृत्यु भएको छ ।
यस अवधिमा ५ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन्। विपद्का घटनाबाट ७४७ भन्दा बढी परिवार प्रभावित भएका छन् ।
१४३ घर पूर्ण रूपमा क्षतिग्रस्त
प्राधिकरणका अनुसार पछिल्लो चार दिनमा १४३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढी, पहिरो र वर्षाका कारण विभिन्न जिल्लामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।
उद्धार र राहत जारी
विपद् प्रभावित क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा उद्धार र राहतका काम जारी रहेका छन् । प्रभावित परिवारको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।





