चितवन, १२ असोज ।
दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी तीव्र पारिएको छ । दोस्रो मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता असोज १६ र १७ गते भरतपुरस्थित सिएमटी रिसोर्टमा हुनेछ ।
आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले प्रतियोगिताको मिति नजिकिदै गर्दा तयारी तीव्र पारिएको जानकारी दिएको हो । दुई दिन चल्ने प्रतियोगितामा विभिन्न ९ विधामा प्रतिस्पर्धा हुनेछ । मिस्टर चितवनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । मास्टर वेटसँगै पुरुष स्पोर्टस् फिजिक्स खुला र महिला एथ्लेटिक्स फिजिक्स खुलामा पनि प्रतिस्पर्धा हुने आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए ।
मिस्टर चितवनको दोस्रो संस्करणमा पुरुष स्पोर्टस फिजिक्स पनि समावेश गरिएको गुरुङले बताए । प्रतियोगितामा चितवन जिल्ला भित्रका करिब ७० जना खेलाडीहरु सहभागी हुनेछन् । सहभागी खेलाडीहरुको तौल तथा उचाइ मापन १६ गते र १७ गते उनीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको भरतपुर महानगरपालिकाका कार्यबाहक मेयर चित्रसेन अधिकारीले उद्घाटन गर्नेछन् ।
मिस्टर चितवन ओभरअलमा विजेताले गोल्ड मेडलसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै शारीरिक सुगठनमा विभिन्न तौल समूह तथा मास्टर वजनका विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला एथ्लेटिक्स फिजिक्स तथा पुरुष स्पोर्टस् फिजिक्सतर्फ विजेताले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० तथा तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने अनुमान गरिएको छ । यस अघि २०८१ मा भएको प्रथम मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको उपाधि राजकुमार मानन्धरले जितेका थिए ।





