प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी

भरतपुर, १४ असोज ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ प्रविन देवकोटा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनको मतपरिणाम मंगलबार साँझ सार्वजनिक हुँदा देवकोटाले २२७ मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

यस क्लस्टरतर्फ ३५ वर्षमुनिका ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । चितवनबाट खुला युवातर्फ प्रविन देवकोटा र उमंग लोहनी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

चितवनको माडी नगरपालिका–४ स्थायी घर भएका देवकोटा यसअघि माडीबाट निर्विरोध क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । उनले वि.सं. २०६४ मा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए ।

खैरहनी माविको स्कुल कमिटी सचिव हुँदै २०७३ सालमा नेविसंघ चितवन जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका देवकोटा २०८२ सालदेखि नेविसंघ चितवन जिल्ला सचिवका रूपमा सक्रिय छन् ।

साङ्गठनिक अनुभवसँगै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका देवकोटाले नयाँ सोच, युवा सहभागिता, प्रविधिमैत्री संगठन र पुस्तान्तरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका थिए ।

‘राजनीति नारामा मात्र होइन, व्यवहारमा देखिने नयाँ सोच र कार्यशैली हुनुपर्छ,’ देवकोटाले भने, ‘अग्रजको अनुभव र युवाको ऊर्जालाई एकै ठाउँमा जोडेर कांग्रेसलाई अझ जीवन्त र जनमुखी बनाउनु हाम्रो मुख्य दायित्व हो ।’

पेशाले लेखा तथा कर परामर्शदाता रहेका देवकोटा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनरत छन् । युवा पुस्तामाझ सक्रिय तथा स्पष्ट वक्ताका रूपमा परिचित देवकोटाको निर्वाचनले कांग्रेसको युवा नेतृत्वमा उनको उपस्थिति थप बलियो बनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट