काठमाडौं, १४ असोज ।
दूध उत्पादनको लागत बढ्दै गएको भन्दै चितवनका दुग्ध किसानले दूधको खरिद मूल्य बढाउन सरकारसँग माग गरेका छन् । दूधको मूल्य पुनरावलोकनसहित विभिन्न माग राखेर चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको टोली काठमाडौं पुगेको हो ।
संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीको नेतृत्वमा काठमाडौं पुगेको टोलीले बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई छुट्टाछुट्टै भेट गरी ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा किसानले उत्पादन गर्ने दूधको लागत बढ्दै गएकाले सरकारले कच्चा दूधको खरिद मूल्य पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ । सरकारले २०७९ फागुन १९ गते ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ भएको कच्चा दूधको न्यूनतम खरिद मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरेको थियो ।
तर, पछिल्ला केही वर्षदेखि दूधको मूल्य यथावत् रहे पनि पशुपालनमा प्रयोग हुने दाना, चोकर, चिनी, पिना, औषधिलगायत सामग्रीको मूल्य बढ्दै गएको संघले जनाएको छ । उत्पादन लागत बढ्दै जाँदा किसानलाई दुग्ध व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको संघको भनाइ छ ।
मूल्यवृद्धिसँगै किसानका अन्य माग
संघले कच्चा दूधको खरिद मूल्य बढाउनुपर्ने मागसँगै पशु आहारसँग सम्बन्धित कच्चा पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । त्यस्तै, किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) छुट गर्नुपर्ने माग पनि संघले राखेको छ ।
किसानले दूध बिक्री गरेबापत प्रत्येक १५ दिनमा भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने संघको अर्को माग छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लगायत निजी डेरी उद्योगले किसानबाट खरिद गरेको दूधको भुक्तानीमा ढिलाइ गर्दा किसान थप समस्यामा परेको संघले जनाएको छ ।
किसानलाई समयमै भुक्तानी हुने व्यवस्था मिलाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
माग अध्ययन गर्ने मन्त्रीको प्रतिबद्धता
ज्ञापनपत्र बुझ्दै मन्त्री चौधरीले किसानले उठाएका मागका विषयमा अध्ययन गर्ने बताएकी छन् । किसानबाट उत्पादित दुग्धजन्य पदार्थमा लाग्ने भ्याट छुटको विषय भने अर्थ मन्त्रालयसँग सम्बन्धित रहेको र त्यसमा अर्थ मन्त्रालयले रोक लगाएको उनको भनाइ थियो ।
चितवनमा दैनिक ३ लाख ७५ हजार लिटर दूध उत्पादन
संघका अनुसार चितवनमा दैनिक करिब ३ लाख ७५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । दूध उत्पादनमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको चितवनमा आफ्नै दूध बिक्री केन्द्र सञ्चालनसँगै पशु आहार तथा दाना उत्पादनलगायतका गतिविधि पनि सञ्चालन हुँदै आएका छन् ।
दूधको उत्पादन लागत बढ्दै जाँदा किसानलाई व्यवसाय टिकाउन चुनौती थपिएको भन्दै संघले किसानको लागत, बजार मूल्य र भुक्तानी प्रणालीलाई ध्यानमा राखेर तत्काल आवश्यक निर्णय लिन सरकारसँग आग्रह गरेको छ ।





