चितवन, १४ असोज ।
भरतपुर महानगरपालिका–१० स्थित ओम शान्ति एकेडेमीमा विद्यार्थीहरूको सहभागितामा हाट बजार कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीलाई प्रत्यक्ष अभ्यास तथा व्यावहारिक अनुभवमार्फत सिकाइ प्रदान गर्ने, पुस्तकमा पढेका विषयवस्तुलाई वास्तविक जीवनसँग जोड्ने तथा स्थानीय बजारको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा वस्तुको बिक्री–वितरण, ग्राहकसँगको व्यवहार तथा किनबेचसम्बन्धी आधारभूत सीपको समेत अभ्यास गराइएको थियो ।
कक्षा ३ का सातवटा सेक्सनका विद्यार्थीको सहभागितामा सातवटा आकर्षक स्टल सञ्चालन गरिएको थियो। पिकक सेक्सनले दैनिक उपभोग्य सामग्रीसहितको ग्रोसरी स्टल सञ्चालन गरेको थियो भने लोफोफोरस सेक्सनले विभिन्न कस्मेटिक सामग्री प्रदर्शन तथा बिक्री गरेको थियो ।
स्पाइनिब्याबलर सेक्सनले बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइनका पोसाक राखेको थियो। डोब सेक्सनले ताजा फलफूल, नाइटिङ्गेल सेक्सनले स्टेसनरी सामग्री तथा ब्लुबर्ड सेक्सनले नेपाली मौलिकता, संस्कृति र परम्परा झल्काउने परम्परागत भाँडाकुँडा तथा सामग्रीको स्टल सञ्चालन गरेका थिए ।
त्यस्तै, पिजन सेक्सनले भरतपुर महानगरपालिका तथा स्थानीय क्षेत्रमा उत्पादन तथा उपलब्ध हुने विभिन्न प्रकारका ताजा तरकारी बिक्रीका लागि राखेको थियो ।
कक्षा ३ का विद्यार्थीको सक्रिय सहभागिता र कक्षा शिक्षकहरूको सहजीकरणमा सञ्चालन गरिएको कार्यक्रममा कक्षा १, कक्षा २ तथा केजीका विद्यार्थीले समेत हाट बजारको अवलोकन गरेका थिए ।
विद्यार्थीहरूले आफूले सञ्चालन गरेका स्टलमार्फत वस्तुको प्रदर्शन, बिक्री–वितरण, ग्राहकसँगको व्यवहार र किनबेचको प्रत्यक्ष अभ्यास गरेका थिए। कार्यक्रमको विद्यालयका प्राचार्य टेकबहादुर श्रेष्ठ, सह–प्राचार्यद्वय राजीव चालिसे र भुवनबन्धु अधिकारी तथा एकेडेमिक काउन्सेलर एवं सामाजिक विभाग प्रमुख नरेन्द्र कँडेलले अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा उनीहरूले विद्यार्थीहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै कार्यक्रम आयोजक तथा सहभागी विद्यार्थीलाई धन्यवाद दिएका थिए ।
विद्यालयका अनुसार हाट बजार कार्यक्रमले विद्यार्थीमा व्यवहारिक ज्ञानसँगै सहकार्य, समन्वय, जिम्मेवारीबोध, सञ्चार सीप र आर्थिक साक्षरताको विकासमा सहयोग पुर्याएको छ। कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनसँग जोडेर अभ्यास गर्ने अवसर पाएपछि विद्यार्थीमा उत्साह र आत्मविश्वाससमेत बढेको विद्यालयले जनाएको छ ।
विद्यालयले यस्ता व्यवहारिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने सीप सिकाउनुका साथै सिकाइलाई थप प्रभावकारी र जीवनोपयोगी बनाउन सहयोग पुग्ने जनाएको छ ।





