तपाईंलाई घुम्न कत्तिको मनपर्छ ?
मलाई यात्रा गर्न मनपर्छ, पाठकवृन्द, तपाईंलाईचाहिँ यात्रा गर्न कस्तो लाग्छ नि ? हुन त सुरुमै यो फन्टुस प्रश्न नगरेको भए पनि हुने हो । मैले केही मानिसहरु यस्ता पनि भेटेको छु, जसलाई यात्रा भन्नेबित्तिकै दिक्क लाग्छ । अझ त्यसमा पनि केहीलाई गाडीमा चढ्नुपर्ने भन्ने कुरा सुन्ने बित्तिकै वान्ता हुन सुरु गर्छ । सबै एउटै खालका नहुँदा रहेछन्, केही साथी यस्ता पनि भेटेको छु, जसलाई पैदल हिँड्ने कुराले पनि एलर्जी हुन्छ । केहीलाई खोला तर्नुपर्ने कुराले त केहीलाई पहाड चढ्नुपर्ने कुराले दिक्क बनाउँछ । केहीलाई भने ओरालो झर्नुपर्दा पनि दिक्क लाग्दो रहेछ । त्यही भएर भनिएको होला, कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि ।
म आफ्नो कुरा गर्नुपर्दा यात्रा जस्तो होस्, केही फरक पर्दैन । एउटा कुराचाहिँ छ, मन मिल्ने साथी भने हुनुपर्छ । रोकौँभन्दा केही बेर रोकियून् र हिँडौँ भनेपछि हिँड्न तयार होऊन्, बस् त्यति भए केही चाहिँदैन मलाई । हतारमा यात्रा गर्नुभन्दा रोकिँदै गरेको यात्रा बढी मनपर्छ मलाई । यस्ता यात्रा कति गरियो कति ? अझ कति गर्नु छ कति ? मेरो विचारमा जीवन नै यात्रा हो, चरैवेति मेरा जीवनको सिद्धान्त ।
अहिलेसम्म कतिवटा यात्रा एकल रुपमा सम्पन्न गर्नुभएको छ ?
मैले जीवनमा थुप्रै यात्रा गरिसकेँ । जीवनको पहिलो यात्रा कहिले गरेँ हुँला भन्ने कुराले भने मलाई निकै सताउँछ । मैले आजसम्म सम्झेको जीवनको पहिलो यात्रा तनहुँको पुर्कोटदेखि दमौलीसम्मको यात्रा हो । मलाई मिति त याद छैन, तर त्यतिबेला म भर्खर स्कुल जान थालेको थिएँ । यसका आधारमा हेर्दा त्यो त्यस्तै २०३५ सालतिरको हुनपर्छ । भन्सारमा पुगेपछि सायद त्यो ट्रक हुनुपर्छ, पर अगाडि बढ्दै थियो, मैले त्यो देखेपछि आमा र ठुलोबासँग घर हिँडेको कुरा गर्दा उहाँहरु मज्जाले हाँस्नुभएको कुरा मलाई अझै झल्लझली याद आउँछ । मैले अझसम्म बुझेको छैन, उहाँहरु त्यतिबेला साँच्चै हाँस्नुचाहिँ किन भयो होला ?
मैले अगाडि पनि भनेँ, जीवनमा धेरै यात्रा गरियो, तर सोलो याने कि एकल यात्रा निकै कम गरिएको छ । आफन्तकहाँ जाँदा बाहेक घुम्ने प्रयोजनका लागि आजसम्म एउटा पनि एकल यात्रा गर्न सकेको छैन मैले । सायद एक्लै हिँड्दा म डराउँछु कि ? यसका बारेमा भने मैले गम्भीर भएर आजसम्म सोचेको छैन । भावकगण, यहाँले चाहिँ जीवनमा एकल यात्रा कतिवटा गर्नुभएको छ हँ ? अब म यहाँ तपाईंलाई कथाकार विनोदबाबु रिजालको ‘नैबेद’ कथासङ्ग्रहको यात्रा गराउँदै छु, त्यो पनि एउटा कथालाई लिएर ।
के तपाईंले विनोदबाबु रिजालको ‘क्याप्टेन डाँडा’ कथा पढ्नुभएको छ ?
पाठकवृन्द, तपाईंलाई सबैभन्दा मनपर्ने विधा कुन हो ? कविता, कथा, उपन्यास, निबन्ध वा सधैँ विवादको घेरमा परिरहने गजल । यसका बारेमा खुसुक्क मेरो मेसेन्जरमा जवाफ पठाउनुहोला है । त्यसका बारेमा हामी दुई मिलेर बहस गरौँला ।
कथाकार विनोदबाबु रिजालको ‘नैबेद’ कथासङ्ग्रहमा आधारित भएर तयार पारिएको सम्भवतः पहिलो समीक्षा हो, निर्दोष जीवनको ‘नैबेद : समकालीन नेपाली समाजको ऐना’ । यो समीक्षामा उनी ‘क्याप्टेन डाँडा’ कथाका बारेमा यस्तो लेख्छन् :
‘क्याप्टेन डाँडा’ कथामा पूर्णबहादुरले शिक्षाका लागि उठाएको दुःख र गरेको संघर्षलाई चित्रण गरिएको छ । आफ्नो गाउँलाई पर्यटनका हिसाबले विश्वसामु चिनाउने क्याप्टेन बाको सपनालाई द्वन्द्वकालको चन्दा असुलीजस्तो घिनलाग्दो दलीय हर्कतले तुहाइदिन्छ । माओवादी चन्दा आतंकका कारण क्याप्टेन बाले ज्यान गुमाउनुपरेको अवस्थालाई कथाले जीवन्त बनाएको छ । (कायाकैरन दैनिक)
पाठकवृन्द, तपाईंलाई लामो कथा कत्तिको मनपर्छ हँ ? यदि लामो कथा पढ्ने बानी छैन भने यो कथा पढ्नुअघि त्यो बानीको विकास गर्नुस् है । नत्र भने यहाँलाई निकै कठिन हुनेवाला छ । यो कथाले एउटा सोलो यात्राको वर्णन गरेको छ । यसमा क्याप्टेनको मूर्ति अनावरण कार्यक्रममा भाग लिनका लागि एक जना पत्रकार लामो बाटो एक्लै हिँडेर गएका छन् । बाटोमा उनीसँग उनै क्याप्टेनबासँग यात्रा गर्छन्, तर उनलाई ती पत्रकारबाहेक अरु कसैले देख्दैनन् । उनलाई ती बुढाबाले निकै सहयोग पनि गर्छन् । यसरी हेर्दा यो कथा ह्यालुसिनेसनको कथा हो भन्नुपर्ने हुन्छ । जेहोस्, मलाई भने यो ह्यालुसिनेसन निकै मन परेको थियो । अझ नढाँटी भनूँ भने यो कृतिभित्रकै मलाई सबैभन्दा मन परेको कथा नै यही हो । यो कथा किन मनपर्यो ? हेर्नुस्, एउटा साक्ष्य :
“मेरो नाम यात्री । उमेर बत्तिस वर्ष ।
सात वर्षदेखि ट्राभल डायरी लेखिरहेको छु । मेरो डायरी ट्राभल प्लेटफर्महरुले प्रकाशन गर्छन् । तीन वर्षअघि मैले एउटा किताब पनि निकालिसकेको छु । त्यसलाई नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको थियो ।
मेरो लागि जीवन एक यात्रा हो । त्यसैले मेरो वास्तविक नाम सरोज शर्मा मेटाएर मैले यात्री बनाएँ । यसमा मलाई कत्ति पनि पछुतो छैन । घुम्न जति मन पर्ने विषय मेरो दिमागमा अरू छैन ।
खासमा म एकदमै एकलकाँटे छु । मेरा खासै साथी छैनन् । म एक्लै हिँड्न रूचाउँछु । प्रकृतिसँग खेल्न, घुम्न, बोल्न मलाई औधि मन पर्छ । साथीसँग हिँड्दा मलाई यात्रा स्वच्छन्द लाग्दैन । अरूको रूचिअनुसार हिँडे जस्तो लाग्छ । आफूखुसी गर्न पाउँदिनँ अनि खल्लो हुन्छ ।” (पृ. ७१)
पाठकवृन्द, कथाको यति अंश पढिसकेपछि तपाईंलाई क्याप्टेन डाँडा जाऊँ, जाऊ भएन ? मलाई त यसले हुटहुटी जगायो । त्यही भएर त लेख्ने मन पनि बन्यो ।
आफूले क्याप्टेन डाँडा घुम्न चाहेको कुरा किन नगर्ने ?
विनोदजी, भारतीय उपन्यासकार के आर नारायणनको माडगुडी एक्सप्रेस पढेर हो क्यार, पाठकहरु त्यो उपन्यासमा भएको ठाउँ खोज्दै दक्षिण भारतका धेरै ठाउँ चाहारेका थिए भन्ने कुरा पत्रपत्रिकामा पढेको थिएँ । मलाईचाहिँ त्यस्तो कहिल्यै भएन । जब भूपिनको मैदारो पढेँ, तब त्यहाँ उल्लेख भएको अँधेरी गाउँ घुम्ने इच्छा पलाएको थियो । हुन त म ज्यादा उकालो ओरालो भयो भने हिँड्न सक्दिनँ भन्ने थाहा पाएर होला भूपिनले कहिल्यै बलेवा जाने प्रस्ताव गरेनन् । मैले त्यसलाई सहज रुपमा लिएको पनि छु । हिँड्न मन लागेर पनि ज्यादा भिरालो जमिनमा हिँड्न सकिनँ त त्यो मेरो दोष हो र ?
विनोदजी, यहाँको ‘क्याप्टेन डाँडा’ कथामा आएको क्याप्टेन डाँडा मलाई घुम्न मन लागेको जीवनकै दोस्रो साहित्यिक परिवेश हो । मलाई त्यो ठाउँ निकै मन परेको हो । तपाईंको कथाको पात्रजस्तो म एक्लै त त्यहाँ पुग्नै सक्दिनँ होला । मलाई लाग्छ, त्यो कथाको समाख्याता तपाईं आफैँ हुनुपर्छ । मेरो विचारमा त्यो ठाउँ धादिङको बिचोबिच कतै पर्छ । त्यो भनेको राजधानीबाट निकै नजिकको ठाउँ हो । मलाई त्यो ठाउँ घुम्ने इच्छा भएकाले अर्कोचोटि त्यहाँ जाँदा मलाई पनि साथै लिएर जानुहोला है ! यत्ति त मांग राख्न पाइएला नि ? कि कसो ? दुई जना भएर हिँड्दा क्याप्टेन बा भेएिलान्, नभेटिएलान् । उनले घरिघरि पानी पिलाउलान्, नपिलाउलान् । यसले के फरक पर्छ र ? मलाई त त्यो ठाउँमा एक पटक पाइला राख्ने इच्छा हो बस् । अरु केही होइन ।
त्यसो भए ‘नैबेद’भित्र अरु केकस्ता कथा छन् त ?
पाठकवृन्द, विनोदबाबु रिजालको ‘नैबेद’ कथासङ्ग्रहमा लामाछोटा गरी जम्मा चौधवटा कथा समावेश गरिएका छन् नि । शिखा बुक्स, काठमाडौँले प्रकाशन गरेको ‘नैबेद’मा समाविष्ट कथाका शीर्षकहरु निम्न हुन् : ‘अर्की गर्लफ्रेन्ड’, ‘माहिली’, ‘टाई’, ‘लिली गार्डेन’, क्याप्टेन डाँडा’, ‘दोस्रो बिहे’, ‘बोक्सी’, ‘अन्तिम चुम्बन’, ‘भोग’, अपहरण’, ‘अकाल’, ‘बाध्यता’, ‘शिविर’ र ‘एक्सन कट’ । यी कथाहंरुमा विविध भावहरु छन् । तिनमा ‘अर्की गर्लफ्रेन्ड’, ‘माहिली’, ‘अन्तिम चुम्बन’, ‘दोस्रो बिहे’, ‘लिली गार्डेन’ र ‘बाध्यता’ प्रेमविषयक कथा हुन् भने बाँकी कथामा सामाजिक विषयवस्तु पाइन्छ । तिनमा पनि ‘एक्सन कट’ कलाविषयक कथा हो भने ‘टाई’ शिक्षाविषयक कथा हो ।
यस कृतिका बारेमा थप बुझ्न मन भए ‘कायाकैरन’ दैनिकमा २०८३ साउन ६ गते प्रकाशित लेखक निर्दोष जीवनको समीक्षा ‘नैबेद : समकालीन नेपाली समाजको ऐना’ पढ्नुहोस् है त । होइन, यदि समीक्षा पढेर चित्त बुझ्दैन भने सम्पूर्ण किताब नारायणगढ पसेर ‘नैबेद’ लिएर जानुहोस्, अनि मज्जाले पढ्नुहोस् । कि कसो ?
विनोदजी, केही कुरा छुट्यो कि त ?
विनोदजी, नेपालीमा एउटा भनाइ छ : “कसैसँग ज्यादा आशा नगर, नत्र निराश हुनुपर्ला ।” मेरो जीवनको मूलमन्त्रजस्तै भएको छ यो वाक्य । आशा नगरेपछि निराश हुने डर नहुँदो रहेछ । यो कुरा म सबैसँग उत्तिकै भावले पालना गर्छु । यसले जीवन सरल र सहज ढङ्गले चल्न सहयोग गरेको छ । तपाईंको विचारचाहिँ के छ नि ?
मैले यति भूमिका बाँध्नुको कारण त बुझ्नुभयो होला क्यारे । मैले यो निसमालोचनामा यहाँको ‘नैबेद’को चिरफार गरेको छैन र गर्ने प्रयाससमेत गरिनँ । त्यसमा जे छ, त्यसलाई पाठकले त्यही रुपमा लिऊन् भन्ने चाहन्छु म । यो कृतिका बारेमा बहस वा अन्तरक्रिया भएछ भने खुलेर बहस गरौँला । देशको यो विषम परिस्थितिमा पनि यहाँको कृतिले सफलताको शिखर चढ्दै जाओस् । चरैवेति ।





