पार्टी एकता र १५औँ महाधिवेशनका लागि शेखर कोइरालाको पाँचबुँदे प्रस्ताव स्वीकार : सभापति थापा

काठमाडौं, २ असोज ।
नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको घटना र असहज परिस्थितिबाट गुज्रिएर पार्टीलाई पुनः लयमा फर्काउँदै बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेता तथा सदस्यहरूलाई समेटेर पार्टीलाई एकीकृत रूपमा अगाडि बढाइएको बताए । बैठकको सुरुआतमा उनले भदौ २८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार पहिलोपटक बैठकमा सहभागी भएका केन्द्रीय सदस्यहरूलाई स्वागतसमेत गरे ।

गत वर्ष भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै सभापति थापाले त्यसले मुलुक र पार्टीको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको उल्लेख गरे । “नेपालको जननिर्वाचित सरकार पदच्युत भयो, संसद् भवन ध्वस्त भयो र हाम्रो पार्टी कार्यालयसहित नेताहरूको भौतिक शरीरमाथि नै आक्रमण भयो,” उनले भने, “इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले यसरी सरकार छाड्नुपर्ने स्थिति बन्यो । यो घटनाले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि ठूलो प्रश्न उठाएको छ ।”

निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम अपेक्षाअनुसार नभए पनि कांग्रेसलाई समाप्त हुनबाट बचाउँदै ‘भुइँभन्दा मुनिबाट’ यात्रा प्रारम्भ गरेर खरानीबाट पार्टीलाई उठाउने प्रयास भइरहेको उनको भनाइ थियो । कम्युनिस्ट पार्टीलगायत अन्य दलहरू पनि ठूलो मतबाट घटेर खुम्चिएको वर्तमान राजनीतिक यथार्थ औँल्याउँदै उनले पार्टीभित्रको असहमतिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

नेता डा. शेखर कोइराला र पूर्वउपसभापति एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भएको संवादको प्रसंग उल्लेख गर्दै सभापति थापाले पार्टीभित्र बृहत्तर एकता निर्माण गर्न र आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित बनाउन आफूहरू गम्भीर रहेको बताए ।

“डा. शेखर कोइरालाले अगाडि सार्नुभएको उच्चस्तरीय संयन्त्र बनाउने, छानबिन तथा निर्वाचन समितिमा सबै पक्षलाई समावेश गर्ने र क्रियाशील सदस्यता अद्यावधिक गर्नेलगायतका प्रस्तावलाई पार्टीको हितमा शतप्रतिशत स्वीकार गरिसकेका छौँ,” उनले भने ।

पार्टीभित्र देखिएका वैचारिक भिन्नता र चुनौतीलाई चिर्दै कांग्रेसलाई एकताबद्ध रूपमा अगाडि बढाउन तथा राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोणसहित उभिन सबै नेता तथा कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा सभापति थापाले जोड दिए।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट