वास्तवमै माङ्गलिक शब्द बडो रहस्यात्मक छ । विषेशतः माङ्गलिक कार्यमा दोष बोकेको हुनाले माङ्गलिक दोष भएको हो । वैदिक ज्योतिषशास्त्रमा माङ्गलिक दोषको प्रभाव विशेष रहन्छ । माङ्गलिक दोष मङ्गलग्रहबाट उत्त्पन्न हुने भएकाले मङ्गलग्रहबाट नै माङ्गलिक दोषको सिर्जना भएको मानिन्छ । मङ्गलग्रह एक क्रूर एवं पापी उर्जा र रिस, क्रोध, शक्ति, वादविवाद, द्वन्द्वको कारकत्त्वमा वर्गीकृत गरिएकाले नै दाम्पत्य जीवनमा कुज (मङ्गल) ग्रहले ठूलो प्रभाव बोकेको हुन्छ । माङ्गलिकदोष सिर्जना भएको खण्डमा विशेषतः विवाहमा सम्बन्धविच्छेदजस्ता कार्य समेत हुन्छ र वरको कुण्डली चक्रमा मङ्गलदोष भए वधूलाई हरण र वधूकोमा माङ्गलिक भए वरलाई कष्टकर हुन्छ भन्ने कुरा ज्योतिषशास्त्रमा प्रामाणिक रूपमा व्याख्याकृत गरिएको पाइन्छ । मङ्गलको उर्जा नै अत्यन्त शक्तिशाली र क्रोधले युक्त हुने भएकाले दाम्पत्य जीवनमा नै प्रभाव पार्ने हुन्छ । शास्त्रमा भनिएको छ :-
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।
पत्नी हन्ति स्वभर्तायां भर्ता भार्यां न संशयः ।।
यदि कुनै पनि जातकको जन्मकुण्डलीमा लग्नस्थानमा, चतुर्थस्थानमा, सप्तमस्थानमा, अष्टमस्थानमा र द्वादशस्थानमा मङ्गलग्रह अशुभ प्रभावमा बसेको छ भने माङ्गलिक दोषले युक्त मानिन्छ । ज्योतिषशास्त्रमा सप्तमभावलाई विवाहको स्थानको संज्ञा दिएको हुनाले लग्न, चतुर्थ, द्वादशभावमा रहेको मङ्गलले पूर्ण प्रभाव पारेको हुनाले दाम्पत्य जीवनमा विशेष दोषले युक्त मानिन्छ र सप्तम र अष्टम माङ्गलिकमा विशेष दोष रहन्छ । माङ्गलिकदोषले व्यक्तिको जीवनमा गहिरो प्रभाव पार्ने भएकाले यो दोषलाई वैदिक मन्त्र, विधि-पद्धतिद्वारा समाधान गर्न सकिन्छ । वरको जन्मकुण्डलीमा माङ्गलिकदोष भए अर्क विवाहोत्सव आदि कार्य गरेर दोष शान्त गर्ने नियम होराशास्त्रमा वर्णित गरिएको छ भने वधूको जन्मकुण्डलीमा कुज (मङ्गल) दोषले युक्त भएर वरकोमा दोष छैन भने विल्ववृक्ष वा विष्णुप्रतिमासङ्ग विवाह गर्नै पर्ने शास्त्रीय मान्यता नै रहेको छ । यदि वर र वधू दुवैको जन्मकुण्डलीमा माङ्गलिक दोष भएको खण्डमा भने माङ्गलिक दोष भङ्ग हुन्छ अर्थात् दोष लाग्दैन किनभने दुवै शक्तिशाली व्यक्ति भएकाले झगडा शान्त हुन्छ जोड र जोडको सिद्धान्त जोड नै हुन्छ । यसैलाई ज्योतिषशास्त्रमा व्याख्या गरिएको छ :-
कुजदोषवती देया कुजदोषवते किल ।
नास्ती दोषो नचानिष्टं दाम्पत्योः सुखवर्धनम् ।।
अर्थात् वर-वधू दुवैको जन्मपत्रिकामा मङ्गलदोषले युक्तभएको बसेको छ भने दाम्पत्य जीवन अत्यन्त शोभनीय हुन्छ । पति र पत्नीबीच विशेष उच्च प्रेम रहन्छ । अनिष्टलाई दूरीकरण गरेर पुत्रपौत्र सुखले युक्त हुन्छ भनेर शास्त्रीय प्रामाणिक रूपमा नै मुहूर्तचिन्तामणिमा व्याख्या गरिएको छ । माङ्गलिकदोष भएर पनि दोष नलाग्ने अवस्थाहरू विभिन्न प्रकारका छन् । भङ्गको परिहारमा रामदैवज्ञ भन्नुहुन्छ :-
न मङ्गली चन्द्रभृगु द्वितीये,
न मङ्गली पश्यति यस्य जीवः।
न मङ्गली केन्द्रगते च राहु,
न मङ्गली मङ्गलराहुयोगे ।।
अर्थात् कुनै पनि जातकको जन्मकुण्डलीमा चन्द्र, शुक्र बलियो भएर दोश्रो भावमा बसेको छ भने माङ्गलिक दोष भङ्ग हुन्छ । यदि ईश्वरीय कृपाकारक जीवग्रहले मङ्गललाई दृष्टि गर्छ भने माङ्गलिक दोष भङ्ग हुन्छ तर बृहस्पति ग्रह प्रतिकूल छ भने भङ्ग गर्ने शक्तिमा कमी रहन्छ । चन्द्रमा ग्रह आफ्नो देदीप्यमान कान्तिले सुशोभित भएर लग्नकेन्द्रमा विराजित हुन्छ भने माङ्गलिक दोषको प्रभाव देखिदैन । दाम्पत्य जीवनका लागि माङ्गलिक दोषमात्र नभई विभिन्न दोष शान्त गरेर मात्र विवाह गर्नपर्छ । कतिपय अवस्थामा माङ्गलिक दोषको प्रभाव नभएर अन्य पापग्रहहरूको सम्बन्धको कारणले पनि दाम्पत्य जीवन समस्याग्रस्त बनाउने गर्दछ । ज्योतिषशास्त्रमा नै भनिएको छ :-
ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च ।
ग्रहैर्व्याप्तं इदं सर्वं त्रैकोक्यं च चराचरम् ।।
ग्रहहरूले मानिसलाई राज्य, धन, पद, प्रतिष्ठा र सुख दिन पनि सक्छन् र खोस्न पनि सक्छन् । जन्मकुण्डलीमा ग्रहहरूको अवस्था र प्रभावअनुसार मानिसको उन्नति-अवनति, लाभ-हानि तथा सुख-दुःख निर्धारण हुन्छ । त्यसैले चराचरसहित सम्पूर्ण संसारमा ग्रहहरूको नै भूमिकाको ठूलो हुन्छ । व्यक्तिलाई राज्य दिलाउने र राज्य हरण गराउने पनि ग्रह नै हो, त्यसकारण ज्योतिषशास्त्रमा बलाबलको आधारमा नै फलादेश गरिन्छ ।
***
(लेखक समुद्र नेपाल वेद वेदाङ्ग संस्कृत विद्यापीठ देवघाटधाममा अध्ययनरत हुनुहुन्छ ।)




