भरतपुर, १४ कात्तिक ।
राइनो क्लबको आयोजनामा शनिबार सम्पन्न पाँच किलोमिटर दूरीको राइनो दौड प्रतियोगितामा पुरुषतर्फ मुकेश पाल र महिलातर्फ सिर्जना पाण्डे प्रथम भएका छन् ।
गैंडाकोटस्थित जयश्री पुलबाट सुरु भएको दौड नारायणगढको लीलाचोकमा पुगेर सम्पन्न भएको थियो ।
पुरुषतर्फ मुकेशले निर्धारित दूरी १६ मिनेट ५ सेकेन्डमा पार गर्दै पहिलो स्थान हासिल गरे। उमेश धापले १६ मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र दिशा अरज लिम्बुले १६ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
त्यस्तै, महिलातर्फ सिर्जनाले २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन् । सरस्वती भट्टराईले २१ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र हिमाली बुढाले २२ मिनेट ३९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् ।
प्रतियोगिताको ५० वर्षमाथिको भेट्रान्स विधातर्फ ५१ वर्षीय यानबहादुर बिष्टले २२ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरे ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था रहेको छ ।
स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि, दौड संस्कृतिको विकास तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक महेश प्रधानले बताए ।





