‘एकान्तवास’ पुस्तकमार्फत नेपाली साहित्यमा आफ्नो कदम राख्न आएका युवा साहित्यकार हुन् विनोदबाबु रिजाल । पत्रकारिता र शिक्षण पेसालाई सँगसँगै अगाडि बढाउँदै आएका विनोदले आफ्नो पहिलो साहित्यिक कृतिका रूपमा वि.सं. २०७७ सालमा ‘एकान्तवास’ (गैरआख्यान) लिएर पाठकमाझ उदाए । कोभिड महामारीमा बन्द कोठामा कैद हुनुपर्दाको पीडालाई लकडाउन डायरीका रूपमा आफ्ना अनुभवहरू समेटेका छन् । आफ्नो जीवनका केही मिठा त केही तीता पलहरूलाई समेत विनोदले किताबमा समेटेका छन् । ‘एकान्तवास’ प्रकाशित भएको करिब ६ वर्षपछि विनोदले आफ्नो दोस्रो कृतिका रूपमा ‘नैबेद’ कथा–सङ्ग्रह लिएर पाठकमाझ आएका छन् ।
‘नैबेद’ मा चौधवटा कथा समावेश गरिएका छन् । शिखा बुक्सले प्रकाशन गरेको ‘नैबेद’ यतिबेला पाठकमाझ चर्चाको विषय बनेको छ ।
असारको तेस्रो हप्ता चितवनमा विमोचन गरिएको ‘नैबेद’ कथा–सङ्ग्रह मैले दुईवटा बसाइमा पढेर सिध्याएँ । चौधवटा लामा कथा समावेश गरिएको ‘नैबेद’ मा विविध विषयहरूलाई समेटेर लेखकले कथाको स्वरूप प्रदान गरेका छन् । लामो समयपछि चितवनको साहित्यले एउटा बलियो आख्यान कृतिलाई जन्माएको छ ।
कथाको शैली र विषयवस्तुको छनोट बेग्लै किसिमको छ ।
दुनियाँ यतिबेला प्रविधिमैत्री बन्दै गएको परिप्रेक्ष्यमा लेखकले ‘अर्की गर्लफ्रेन्ड’ कथामा मानवीय भावनालाई प्रविधिसँग साटासाट गरेको अवस्थालाई अत्यन्तै रोमाञ्चक रूपमा प्रस्तुत गरेका छन् । यो युग भागदौडको युग बन्दै गइरहेको छ । धेरैजसो मानिसलाई फुर्सद कम छ ।
यतिसम्म कि एकैछिन कसैसँग चियागफ गर्ने फुर्सदसमेत छैन । सबैलाई आ–आफ्नै जीवनको भागदौडमा दौडिरहनु परेको छ । कसैलाई कसैको भावना सुन्ने र बुझ्ने फुर्सद नै छैन । मनका भावना सुनिदिने नजिकको साथीको अभावमा मानिसले प्रविधिलाई आफ्नो साथी बनाएर आफ्ना मनका भावना साटफेर गर्ने वातावरण सिर्जना गरिरहेका छन् ।
दोस्रो कथा ‘माहिली’ मा मुख्य पात्र माहिलीले आफ्नो वैवाहिक जीवनमा भोग्नुपरेका पीडा र संघर्षलाई चित्रण गरिएको छ । वैवाहिक जीवन आफूले सोचेजस्तो नहुँदा र त्यसमा आएका अनेकौँ समस्याबाट छुटकारा पाउनका निम्ति माहिलीले रोजेको दोस्रो वैवाहिक जीवन र जीवनसाथीको प्रसङ्गलाई देखाइएको छ । लेखकले हाम्रै समाजभित्र घटेका घटनाहरूमा माहिलीलाई प्रतिनिधि पात्रको भूमिकामा उभ्याएका छन् । वैवाहिक जीवनमा एकले अर्काको भावना नबुझ्दा र आफ्नो कर्तव्यप्रति आत्मबोध नगर्दा वैवाहिक जीवन दुःखद बन्न पुगेको छ ।
‘टाई’ तेस्रो कथा हो । विद्यार्थीको पढाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र शिक्षालाई सबैको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने सोच्नुको सट्टा शैक्षिक क्षेत्रलाई व्यवसायीकरण गरेर विद्यार्थीलाई अनेकौँ नीति–नियममा बाँध्दै चर्को शुल्क असुल गर्ने प्रवृत्तिका कारण गरिबीको चपेटामा परेको वीरबहादुरजस्तो जेहेन्दार विद्यार्थी कसरी आत्महत्याको बाटो रोज्न विवश हुन्छ भन्ने कुरा यस कथाले देखाएको छ । अहिलेको शैक्षिक क्षेत्रभित्र रहेका विकृति र विसङ्गतिलाई कथाले उदाङ्गो पारेको छ ।
‘लिली गार्डेन’ कथामा भ्रममा देखिएको प्रेमको एउटा मीठो सपना अन्ततः भ्रमको पर्दा उघ्रिएपछि प्रेमको वास्तविकता उजागर हुन्छ र प्रेमको नमिठो अन्त्य हुन्छ । हामी बाँचेको दुनियाँमा हामीलाई भ्रमित पार्ने कैयौँ कुरामध्ये प्रेम पनि एउटा हो । हामी जुन कुरालाई वास्तविक ठान्छौँ, त्यो अवास्तविक र जुन कुरालाई काल्पनिक ठान्छौँ, त्यो वास्तविक बन्न पुग्छ । वास्तवमा भ्रम अत्यन्त पीडादायी र सहनै नसकिने कुरा हो ।
‘क्याप्टेन डाँडा’ कथामा पूर्णबहादुरले शिक्षाका लागि उठाएको दुःख र गरेको संघर्षलाई चित्रण गरिएको छ । आफ्नो गाउँलाई पर्यटनका हिसाबले विश्वसामु चिनाउने क्याप्टेन बाको सपनालाई द्वन्द्वकालको चन्दा असुलीजस्तो घिनलाग्दो दलीय हर्कतले तुहाइदिन्छ । माओवादी चन्दा आतंकका कारण क्याप्टेन बाले ज्यान गुमाउनुपरेको अवस्थालाई कथाले जीवन्त बनाएको छ ।
‘दोस्रो बिहे’ कथाले नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको ‘औँस्याहा’ प्रवृत्तिलाई केलाउन खोजेको छ । सिर्जन र मायाले यस्तो अन्धविश्वासका कारण भोग्नुपरेको पीडालाई स्पष्ट रूपमा प्रस्तुत गरिएको छ । मानिसका लागि हरेक दिन असल हुन्छ, कुनै पनि दिन आशिष वा श्राप हुँदैन भन्ने सन्देश कथाले दिएको छ ।
‘बोक्सी’ कथाले नेपाली समाजमा अन्धविश्वासले महिलामाथि गर्ने अमानवीय व्यवहारलाई उजागर गरेको छ । सामाजिक तथा आर्थिक रूपमा कमजोर, दलित, उत्पीडित वा एकल महिलामाथि बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने, मलमूत्र खुवाउने, नाङ्गै घुमाउनेजस्ता अमानवीय व्यवहारको चित्रण गरिएको छ । यस्ता कुप्रथाविरुद्ध सबैले सशक्त रूपमा आवाज उठाउनुपर्ने सन्देश कथाले दिएको छ ।
‘अन्तिम चुम्बन’ केही यथार्थ र केही भ्रमका बीचमा अन्त्य भएको रोमान्टिक प्रेमकथा हो । कथा पढ्दै जाँदा पाठक रोमाञ्चित बन्छन् भने अन्त्यतिर पुग्दा गहिरो पीडाको अनुभूति गर्छन् ।
‘भोग’ कथाले अन्धविश्वासका कारण अबोध बालबालिकालाई जिउँदै भोग दिएर सन्तान प्राप्त हुन्छ भन्ने कुसंस्कारलाई उजागर गरेको छ । यस्ता अमानवीय कुप्रथाको अन्त्य हुनुपर्ने सन्देश कथाले दिएको छ ।
‘अपहरण’ कथाले भविष्यलाई सुन्दर बनाउने नाममा वर्तमानलाई कुरूप बनाउने प्रवृत्तिमाथि प्रश्न उठाएको छ । गर्भभित्र हुर्किरहेको जीवनको अन्त्य गर्ने मानसिकतालाई कथाले गम्भीर रूपमा उठाएको छ ।
‘अकाल’ कथाले कोभिड महामारीका बेला सिर्जना भएको भय, त्रास, सामाजिक दूरी र आफ्नै परिवारबाट समेत उपेक्षित हुनुपरेको पीडादायी अवस्थालाई चित्रण गरेको छ ।
‘बाध्यता’ कथामा विवाहलगत्तै श्रीमान् विदेशिनुपर्ने अवस्थाले वैवाहिक सम्बन्धमा पर्ने असरलाई देखाइएको छ । पैसाले सबै आवश्यकता पूरा गर्न नसक्ने र भावनात्मक साथको अभावले सम्बन्ध कसरी कमजोर बन्छ भन्ने कुरा कथाले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
‘शिविर’ कथाले सन्तान प्राप्त गर्न नसक्ने एउटी विवाहित महिलाको मातृत्व पीडा र कारुणिक अवस्थालाई मार्मिक रूपमा चित्रण गरेको छ ।
‘एक्सन कट’ कथामा फिल्ममा अभिनय गर्ने ठूलो सपना बोकेर अवसरको खोजीमा भौँतारिएको एउटा युवाको सपना कसरी टुट्न पुग्छ भन्ने यथार्थ प्रस्तुत गरिएको छ ।
‘नैबेद’ कथा–सङ्ग्रहमा समावेश चौधवटा कथाले विविध विषयवस्तुको उठान गरेका छन् । कथामार्फत लेखकले समाजलाई खबरदारी गर्ने प्रयास गरेका छन् । एक्काइसौँ शताब्दीमा पनि समाजमा व्याप्त अन्धविश्वास, कुसंस्कार, परम्परागत जीवनशैली, वैदेशिक रोजगारीको पीडा, शिक्षाको व्यवसायीकरण, प्रविधिमाथिको बढ्दो निर्भरता र समाज परिवर्तनका नायकहरूले भोग्नुपरेका दुःखलाई कथाका माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । विविध विषय समेटिएका यी कथाहरूले पाठकलाई सोच्न बाध्य बनाउँछन् ।
केही कथाहरूको प्रस्तुति उस्तै–उस्तै किसिमको भएकाले पाठकलाई केही हदसम्म मोनोटोनस अनुभूति हुन सक्छ । केही कथा निकै उत्कृष्ट छन् भने केही सामान्य लाग्छन् । कतिपय कथाको अन्त्य पाठकले पूर्वानुमान गर्न सक्छन् भने केही कथाले अप्रत्याशित मोड लिन्छन् ।
भाषाका हिसाबले कथाहरू सरल र मिठासपूर्ण छन् । विषयवस्तुको छनोट र त्यसको आख्यानीकरण प्रभावकारी रहेको छ । लेखकको आगामी साहित्यिक यात्रा अझ उचाइमा पुग्न सकोस् भन्ने शुभकामना ।




