नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र संघ चितवनद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

नुवाकोट, २५ भदौ ।
रसुवाबाट आएको भीषण बाढीबाट प्रभावित परिवारका लागि फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनले नुवाकोटको विदुर नगरपालिका–९ मा ५० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन् ।

बाढी तथा विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले आयोजित राहत वितरण कार्यक्रममा लत्ताकपडा, जुत्ता–चप्पल, खाद्यान्न, सेनेटरी प्याड, ग्यास चुलोलगायत दैनिक जीवनमा आवश्यक विभिन्न सामग्री वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा फेन्सी व्यवसायी महासंघ नेपालका अध्यक्ष तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलको नेतृत्वमा संघका प्रवक्ता सन्तोष पोखरेल र सदस्य विदुर रेग्मी सहभागी थिए ।

विदुर नगरपालिका–९ का वडा अध्यक्ष कमल श्रेष्ठको रोहवरमा राहत सामग्री पीडित समितिका संयोजक सिंगराज लामासहित प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ, विदुर नगरपालिका–९ का खेलकुद विकास समितिका अध्यक्ष विजय तामाङलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले विपद्को समयमा प्रभावित परिवारमाझ प्रत्यक्ष उपस्थित भएर सहयोग गर्न पाउँदा आफूलाई गौरव महसुस भएको बताए । उनले राहत अभियान सफल बनाउन सहयोग गर्ने फेन्सी व्यवसायी संघ तथा महासंघमा आबद्ध सम्पूर्ण व्यवसायी, सदस्य तथा सहयोगीप्रति आभार व्यक्त गरे ।

वडा अध्यक्ष श्रेष्ठले विपद्को समयमा प्रभावित परिवारको पीडामा साथ दिँदै प्रत्यक्ष रूपमा राहत सामग्री लिएर आएकोमा फेन्सी व्यवसायी महासंघ नेपाल र फेन्सी व्यवसायी संघ चितवनप्रति धन्यवाद व्यक्त गरे । निजी क्षेत्र तथा व्यवसायी समुदायबाट गरिएको मानवीय सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने उनले बताए ।

विपद्का बेला व्यवसायी समुदायले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै गरेको यस सहयोगले प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउनुका साथै ‘व्यवसायसँगै सामाजिक सेवा’को भावनालाई थप बलियो बनाएको छ ।

महासंघ र संघले आगामी दिनमा पनि विपद् तथा कठिन परिस्थितिमा प्रभावित समुदायसँग हातेमालो गर्दै मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट