भरतपुर, २५ भदौ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको छ ।
सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम बुधबार राति सम्पन्न गरेको हो । सेनाको टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान गर्न सफल भएको हो ।
पुल जडान भएसँगै बिहीबारदेखि पैदलयात्रीका लागि आवागमन खुला गरिने भएको छ भने शुक्रबारदेखि सवारीसाधनसमेत सञ्चालनमा आउने भएका छन् ।
बाढीले पक्की पुल बगाएपछि नुवाकोटसहित आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो । सेनाले वैकल्पिक पुल निर्माण गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई राहत मिल्ने भएको छ ।





