भरतपुर, २४ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले महानगरीय ख्रीष्टिय समाज, भरतपुर, चितवनले ४ लाख ७२ हजार १६२ रुपैयाँ सहयोग गरेको छ ।
समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा समाजले बुधबार उक्त सहयोग रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।
यहि भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले समाजले सहयोग अभियान सञ्चालन गरेको हो ।
सहयोग अभियानमा समाजमा आबद्ध विभिन्न मण्डली तथा सहयोगीहरूको सहभागिता रहेको जनाइएको छ । अभियानमा योगदान गर्ने सबै मण्डली तथा सहयोगीप्रति समाजले आभार व्यक्त गरेको छ ।
महानगरीय ख्रीष्टिय समाजका अध्यक्ष पा. राजु परियार, कोषाध्यक्ष पा. रणबहादुर राना मगर र सचिव ए. सुमन लुङ्गेलीले जारी गरेको पत्रमार्फत सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको जानकारी दिइएको हो
।





