भरतपुर, २४ भदौ ।
सुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङ चिलिमे पुगेका छन् ।
नेपाली सेनाको अनुरोधमा आवश्यक समन्वय तथा प्राविधिक सुझावका लागि घिसिङ चिलिमे पुगेको उनको सचिवालयले जनाएको छ । घिसिङले यसअघि चिलिमे जलविद्युत् आयोजनामा कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका थिए । सोही अनुभवका आधारमा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि उनीसँग समन्वय गरिएको जनाइएको छ ।
यसअघि भदौ १४ गते पनि घिसिङले चिलिमे सुरुङसहित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।
विदेशी विज्ञसहितको संयुक्त उद्धार टोलीले सुरुङ छिचोलेर पावर हाउससम्म पुग्ने प्रयास गरिरहेको छ । नेपाली सेनाका अनुसार टोलीले चारवटा ६–६ मिटर लम्बाइका ठूला पाइप प्रयोग गरी सुरुङभित्र हिँड्न मिल्ने बाटो तयार पारेको छ ।
स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत् आयोजनाको टनेलसम्म ठूला उपकरण लैजान सडकमा रहेका ठूला ढुङ्गा विस्फोट गरी हटाउने काम भइरहेको छ । मुख्य चट्टानसम्म पुग्न अब ९५ मिटर मात्रै बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।
मंगलबारसम्म चिलिमे क्षेत्रमा हेलिकप्टरबाट मात्रै आवतजावत सम्भव रहेकामा बुधबारदेखि उद्धारस्थलसम्म अस्थायी सडक खुलाउने तयारी गरिएको छ । उद्धार कार्यलाई रातिसमेत निरन्तरता दिने तयारी भइरहेको छ ।
आयोजनाको सुरुङभित्र करिब २०० मिटर अगाडि रहेको पावर हाउससम्म पुग्ने प्रयास भइरहेको छ। मंगलबारसम्म उद्धार टोली सुरुङभित्र करिब ९० मिटर अघि बढिसकेको थियो ।
सुरुङभित्र अझै ६ जना रहेको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि टोलीले प्रयास तीव्र बनाएको छ ।





