बर्खाले
खहरेलाई नदी बनाएको छ
नदीले
घर, गोठ, चौपाया,
खेतबारीसँगै
मानिसका वर्षौँका सपना पनि
बगाइरहेको छ ।

अचानक उता कसैले
सकिन बाँकी बजेट सम्झियो
सँगसँगै
चुनाव,
मतदाता,
गाउँ
र चुनावअघि देखाइएका सपना सम्झियो ।

हतारको बाकसभित्र
असार थुनेर,
बचेकुचेको बजेट बोकेर
उ निस्किएपछि
बाह्र महिनासम्म
सिंहदरबारका दराजभित्र निदाएका
नक्साहरू
असारे बर्खासँगै
अचानक ब्युँझिए ।

रातारात डोजर गुड्यो
रातारात सडक बन्यो
रातारात बोर्ड ठडियो
रातारात रिबन काटियो
रातारात क्यामेरा मुस्कायो
अनि…
बजेट सकियो ।

बर्खा रोकिएपछि
घामभन्दा पहिले भरोसा उक्कियो
हिलो सुक्नुअघि
विश्वासको सडक चर्कियो ।

असारे विकाससँगै
प्रतिवेदन तयार भयो
फाइल बन्द भयो
सफलताको भाषण पनि सकियो ।

अब अर्को असारमा,
सायद फेरि उ आउनेछ
उही भाषण लिएर,
उही आश्वासन बोकेर,
उही मुस्कान ओढेर,
उही बर्खे विकासको नारा बनेर ।

तर त्यसपटक,
कृपया…

असारे विकास होइन,
बाह्रै महिना टिक्ने विकास बोकेर आउनु

उद्घाटनको फोटो होइन,
जनताको अनुहारमा मुस्कान सम्झेर आउनु ।

बजेट सक्न होइन,
दुःख सक्न आउनु
अस्थायी सडकको लम्बाइ होइन,
स्थायी खुशी मापन गर्न आउनु ।

र,
असारलाई
बजेट सकाउने मौसम होइन,
सपनाका बीउ रोप्ने समय बनाउनु ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट