विषादीयुक्त फलफूल र तरकारीले बढाउँदै स्वास्थ्यमा चुनौती

प्रायजसो फलफूल र तरकारीलाई स्वस्थ जीवनको आधार मान्ने गरिन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्ट फलफूल र तरकारीबाटै प्राप्त हुन्छ । औषधीय महत्त्व बोक्ने यी खाद्यवस्तुले पछिल्लो समयमा भने हाम्रो शरीरलाई पौष्टिक तत्त्व नभई मन्ध विष प्रदान गरिरहेका छन् । फलफूल तथा तरकारीको उत्पादन गर्ने क्रममा अत्यधिक विषादीको प्रयोग बढ्न थालेसँगै तिनको सेवनले जनस्वास्थ्यमा ठूलो जोखिम पैदा गराउन थालेका हुन् ।

व्यावसायिक कृषिको विस्तारसँगै नेपालमा पनि विषादीको प्रयोग उल्लेख्य रूपमा बढेको छ। विषादीको समुचित प्रयोग गर्दा किसानले आफ्नो खेतीबालीलाई विभिन्न किरा, रोग तथा संक्रमण एवम् मिचाहा प्रजातिका झारबाट जोगाउन सक्छन् । तर त्यस्ता विषादीको जथाभावी प्रयोग गर्दा विषको अवशेष फलफूल र तरकारीको बाहिरी भागमा लामो समयसम्म बसिराख्ने सम्भावना हुन्छ । यसरी हामीले दैनिक उपभोग गर्ने भोजनका माध्यमबाट विषको त्यही अंश हाम्रो शरीरभित्र प्रवेश गरिरहेको हुन्छ ।

सधैं सुरक्षित हुँदैनन् आकर्षक देखिने फलफूल-तरकारी

आजभोलि उपभोक्ताहरू बजारबाट फलफूल-तरकारी खरिद गर्दा केवल एउटै मनोविज्ञानबाट प्रेरित भएको पाइन्छ । उनीहरूमा चम्किलो, दागरहित र किराले नछोएको तरकारी नै राम्रो हो भन्ने भ्रम परेको हुन्छ । उपभोक्ताको यही सोचका कारण किसानलाई अझ बढी विषादी प्रयोग गर्न अप्रत्यक्ष रूपमा बल पुगिरहेको हुन्छ । जसको असर समग्र जनस्वास्थ्यमै पर्न जान्छ ।

नेपालमा गोलभेँडा, काउली, बन्दाकोबी, काँक्रा, भेन्टा, स्याउ तथा सुन्तलाजस्ता बालीमा विषादीको प्रयोग बढी हुने गरेको छ। कतिपय अवस्थामा बाली टिप्नुभन्दा केही दिनअघि मात्र विषादी छर्किने गरिन्छ । जबकि विषादी छरेपछि निश्चित समय कुर्न (Pre-harvest Interval) अनिवार्य मानिन्छ। यो नियम पालना नभएपछि विषादीको अवशेष बजारसम्म पुग्ने सम्भावना बढ्छ ।

सरकारी अनुगमनले अधिकांश नमुनामा विषादीको मात्रा तोकिएको सीमाभित्र रहेको देखाए पनि केहीमा सीमाभन्दा बढी विषादी भेटिने गरेको तथ्यले खाद्य सुरक्षामाथि प्रश्न उठाइरहेको छ । अनुसान्धानले एउटै प्रकृतिको विषादीको अत्यधिक प्रयोगका कारण कतिपय किरामा विषादी प्रधिरोधी क्षमता विकास हुने गरेको तथ्य पुष्टि गरेका छन् । जुन नयाँ चिन्ताको विषय बनेर अगाडि आएको छ । यसले भविष्यमा अझ बढी र अझ शक्तिशाली विषादी प्रयोग गर्नुपर्ने दुष्चक्र सिर्जना गर्न सक्छ।

Photo: Kayakairan Daily

शरीरमा विषादीले कस्तो असर गर्छ ?

विषादीको असर प्रयोग गरिएको रसायन, शरीरमा पुगेको मात्रा र कति समयसम्म सम्पर्कमा बसियो भन्ने कुरामा निर्भर गर्छ।

तत्काल देखिने असर : यदि धेरै मात्रामा विषादीयुक्त खाद्यवस्तु सेवन गरियो भने वाकवाकी लाग्ने, बान्ता हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, झाडापखाला हुने, छालामा एलर्जी आउने वा आँखा पोल्ने जस्ता समस्या देखिन सक्छन् । बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकमा यस्ता असर अझ गम्भीर हुन सक्छन् किनभने उनीहरूको शरीरले विषाक्त पदार्थलाई सहजै निष्क्रिय बनाउन सक्दैन ।

दीर्घकालीन असर : वर्षौंसम्म थोरैथोरै मात्रामा विषादी शरीरमा पुगिरहँदा त्यसको असर झन् गम्भीर हुन सक्छ । विभिन्न अध्ययनहरूले क्यान्सर, हर्मोनसम्बन्धी असन्तुलन, प्रजनन समस्या, जन्मजात विकृति, स्नायुसम्बन्धी रोग, कलेजो र मिर्गौलामा क्षति तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने जोखिम बढ्न सक्ने देखाएका छन् । विशेषगरी अर्गानोफस्फेट समूहका केही विषादीले स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्छन्। गर्भावस्था वा बाल्यकालमा यस्ता रसायनको न्यून मात्राको सम्पर्कले समेत मस्तिष्क विकास र सिकाइ क्षमतामा नकारात्मक प्रभाव पार्न सक्ने अनुसन्धानहरूले देखाएका छन् ।

Photo: Deewash Shrestha

नेपालका लागि यो किन ठूलो चुनौती हो ?

नेपालको करिब दुईतिहाइ श्रमशक्ति कृषि क्षेत्रमा संलग्न छ। पछिल्ला दुई दशकमा व्यावसायिक तरकारी खेती विस्तारसँगै विषादीको प्रयोग पनि निरन्तर बढेको छ। नेपालमा विभिन्न कीराका कारण बालीमा हुने क्षति २५ देखि ३५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यही क्षति रोक्न किसानले विषादीमा बढी निर्भर हुने गरेका छन्।

काठमाडौं उपत्यका, चितवन, काभ्रेपलाञ्चोक, धादिङ लगायत व्यावसायिक खेती हुने क्षेत्रमा विषादीको प्रयोग अपेक्षाकृत बढी हुने गरेको छ। तर अधिकांश साना किसानले विषादी छनोट, प्रयोगको विधि तथा मात्रा र सुरक्षाबारे पर्याप्त तालिम नै पाएका हुँदैनन् । फलस्वरूप राम्रो उत्पादन गर्ने उद्देश्यले गरिएको प्रयासले उल्टै उपभोक्ताको स्वास्थ्यलाई जोखिममा पारिरहेको हुन्छ ।

आयातित फलफूल पनि छैनन् पूर्ण रूपमा जोखिममुक्त

नेपालमा छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएका फलफूल तथा तरकारीको पनि ठूलो परिमाणमा उपभोग हुँदै आएको छ । यस्ता खाद्यवस्तुको सुरक्षाका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमुख भन्सार नाकामा विषादी अवशेष परीक्षण गर्दै आएको छ।

आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका ६३ हजारभन्दा बढी आयातित नमुनामध्ये ४० वटा नमुनामा स्वीकृत सीमाभन्दा बढी विषादी भेटिएको थियो। त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा परीक्षण गरिएका ५६ हजारभन्दा बढी नमुनामध्ये ५१ वटा नमुना परीक्षणमा ‘फेल’ भएका थिए। प्रतिशतका हिसाबले यो संख्या कम देखिए पनि असुरक्षित खाद्यवस्तु बजारसम्म सहजैसँगै पुग्न सक्ने सम्भावना यसले देखाएको छ । तसर्थ हालको समयमा बजारमा पाइने फलफूल तथा तरकारीमा विषादीको अवशेषको मात्रा मापदण्डभित्र रहे/नरहेको निश्चित गर्न नियमित परीक्षण तथा अनुगमन हुन आवश्यक छ ।

उपभोक्ताले के गर्न सक्छन् ?

यो समस्या पूर्ण रूपमा उपभोक्ताको नियन्त्रणमा छैन । तर निम्न उल्लिखित सावधानी अपनाएर जोखिम कम गर्न भने सकिन्छ ।

  • फलफूल र तरकारीलाई पानीमा राम्रोसँग धुने,
  • आवश्यक परे काँक्रा, स्याउ वा आलुजस्ता खाद्यवस्तुको बोक्रा हटाएर खाने,
  • तरकारीलाई नुनपानी वा बेकिङ सोडा मिसिएको पानीमा १५–३० मिनेट भिजाएर धुने,
  • बन्दाकोबीको बाहिरी पात हटाउने तथा सागसब्जीलाई राम्रोसँग धुने,
  • सम्भव भएसम्म मौसमी तरकारी वा फलफूलको मात्र सेवन गर्ने,
  • तरकारी तथा फलपूल विश्वासिलो किसानबाट मात्रै खरिद गर्ने,
  • एकीकृत कीट व्यवस्थापन (IPM) वा प्राङ्गारिक खेतीबाट उत्पादन भएका खाद्यवस्तुलाई प्राथमिकता दिने,
  • अस्वाभाविक रूपमा धेरै चम्किला वा अत्यन्तै आकर्षक देखिने फलफूल र तरकारीप्रति सतर्क रहने ।

 

विषादीलाई पूर्ण रूपमा निषेध गर्नु व्यावहारिक समाधान नहुन सक्छ । आधुनिक कृषि प्रणालीमा यसको निश्चित भूमिका छ तर यसको प्रयोग वैज्ञानिक र जिम्मेवारपूर्ण ढंगले हुनुपर्छ ।

सरकारले विषादी बिक्री र प्रयोगमाथि कडा निगरानी राख्नुपर्छ। किसानलाई नियमित तालिम, सुरक्षित विकल्पको प्रवर्द्धन र प्रभावकारी अनुगमन प्रणाली विकास गर्नुपर्छ। अर्कोतर्फ उपभोक्ताले पनि सस्तो वा आकर्षक देखिने वस्तुभन्दा सुरक्षित खाद्यवस्तुलाई प्राथमिकता दिने संस्कार विकास गर्न आवश्यक छ।

हामीले स्वस्थ रहन खाने फलफूल र तरकारी नै विषादीको स्रोत बन्न थाले भने त्यो केवल कृषि क्षेत्रको मात्रै समस्या रहँदैन । यसले जनस्वास्थ्यमा पनि नकारात्मक असर पार्ने निश्चित हुन्छ । सुरक्षित खाद्य प्रणाली निर्माण गर्न सरकारी निकाय, स्वास्थ्य क्षेत्र, किसान र उपभोक्ता सबैको समान भूमिका रहेको हुन्छ । कृषि उत्पादन बढाउने लक्ष्य जति महत्त्वपूर्ण छ, त्यसभन्दा कम महत्त्वपूर्ण नागरिकको स्वास्थ्य कहिल्यै पनि हुनु हुँदैन । आखिर खेतीको अन्तिम उद्देश्य पेट भर्नु मात्र होइन, स्वस्थ जीवन सुनिश्चित गर्नु पनि हो ।

(खनालले त्रिभुवन विश्वविद्यालयको वनस्पति शास्त्र केन्द्रीय विभागबाट स्नातकोत्तर तह पूरा गरेकी हुन् ।)

 

(यस थम्बनेलमा एआई-द्वारा सिर्जित पृष्ठभूमिको प्रयोग गरिएको छ ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट