म एक फकिर यात्री

हिँड्दै छु उकालो बाटो

जाँदै छु अनाम ठाउँ ।

चर्को घाम छ

ज्यादा गर्मी छ

जेठको उखरमाउलो गर्मी ।

हिँड्दै जाँदा

बाटोमा भेट्छु

एउटा पुरानो चौतारो

पालिकाको गिध्दे नजरमा टाढा परेको ।

छन छन् चौतारीमा

बर र पिपल दुबै

सुक्न थालेको छ वर

हरियै छ पिपलचाहिँ ।

गर्मीले थाकेको शरीर

टुसुक्क बिसाउँछु चौतारीमा

गलेको शरीरलाई निद्राले छोप्छ तत्कालै ।

निद्रामै सुन्छु बर र पिपलको संवाद

भावुक हुँदै पिपलसँग वर भन्छ –

“म त बुढो भइसकेँ

तिमी अझै जवान छ्यौ

अब ती मान्छेले

मलाई काट्ने छन्

र रोप्ने छन् नयाँ बर

तिमी कत्ति नरूनु है

बरु रमाउनु त्यो नयाँ बरसँग ।”

रुँदै पिपल भन्छ :

“म मान्छेजस्तो हो र ?

बिच बाटोमा साथ छोड्ने ?

म त तिमीसँगै बाँच्छु

तिमीसँगै मर्छु ।”

तन्द्राकै बिचमा एउटा डोजर आएको देख्छु

आँखा खुल्दा

हर्न बजाउँदै साँच्चै डोजर आउँछ

मलाई तल झर्न आदेश दिन्छ

र भत्काउन थाल्छ

त्यो पुरानो चौतारो ।

जुन ५, २०२६ (विश्व वातावरण दिवस)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट