म एक फकिर यात्री
हिँड्दै छु उकालो बाटो
जाँदै छु अनाम ठाउँ ।
चर्को घाम छ
ज्यादा गर्मी छ
जेठको उखरमाउलो गर्मी ।
हिँड्दै जाँदा
बाटोमा भेट्छु
एउटा पुरानो चौतारो
पालिकाको गिध्दे नजरमा टाढा परेको ।
छन छन् चौतारीमा
बर र पिपल दुबै
सुक्न थालेको छ वर
हरियै छ पिपलचाहिँ ।
गर्मीले थाकेको शरीर
टुसुक्क बिसाउँछु चौतारीमा
गलेको शरीरलाई निद्राले छोप्छ तत्कालै ।
निद्रामै सुन्छु बर र पिपलको संवाद
भावुक हुँदै पिपलसँग वर भन्छ –
“म त बुढो भइसकेँ
तिमी अझै जवान छ्यौ
अब ती मान्छेले
मलाई काट्ने छन्
र रोप्ने छन् नयाँ बर
तिमी कत्ति नरूनु है
बरु रमाउनु त्यो नयाँ बरसँग ।”
रुँदै पिपल भन्छ :
“म मान्छेजस्तो हो र ?
बिच बाटोमा साथ छोड्ने ?
म त तिमीसँगै बाँच्छु
तिमीसँगै मर्छु ।”
तन्द्राकै बिचमा एउटा डोजर आएको देख्छु
आँखा खुल्दा
हर्न बजाउँदै साँच्चै डोजर आउँछ
मलाई तल झर्न आदेश दिन्छ
र भत्काउन थाल्छ
त्यो पुरानो चौतारो ।
जुन ५, २०२६ (विश्व वातावरण दिवस)





