छोटो कार्यकाल, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?

चितवन, २६ भदौ ।

राजनीतिमा पदावधिभन्दा पनि त्यो अवधिमा नेताले जनमुखी काम र परिवर्तन गर्न सक्यो कि सकेन भन्ने प्रश्न बढी महत्त्वपूर्ण हुन्छ ।

स्वास्थ्यजस्तो प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग जोडिएको क्षेत्रमा तत्कालीन बागमती प्रदेश मन्त्री उत्तम जोशीले गरेको कामको मूल्याङ्कन उहाँको कार्यकालमा भएका निर्णय, नीति र त्यसको प्रभावबाट देखिएको छ ।
२०८० जेठ ७ गते बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर पाएका उत्तम जोशीको कार्यकाल लामो थिएन तर छोटो अवधिमै प्रदेशका नागरिकले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रम तथा नीतिलाई प्राथमिकतामा राखेका जोशीले गरेको कामको प्रभाव प्रदेशभित्रका स्वास्थ्य संस्थाहरूमा दशकौँसम्म रहने देखिन्छ ।

९ महिना १६ दिनको कार्यकालमा जोशीले प्रदेशभित्रका नागरिकको उपचारमा पहुँच विस्तारदेखि रोगको रोकथाम, अस्पतालको क्षमता वृद्धि, स्वास्थ्य पूर्वाधार निर्माण, स्वास्थ्य बीमा, आपत्कालीन सेवा र नीतिगत सुधारसम्मका विभिन्न क्षेत्रमा काम अघि बढाएको पाइन्छ ।

अवधि छोटो भएता पनि प्रदेशका नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने उद्देश्य राखेर अगाडि बढेका कारण आफ्नो कार्यकाल पूर्ण सफल र प्रभावकारी भएको जोशीको भनाइ रहेको छ ।

भौगोलिक विकटताका कारण ज्यान गुमाउन बाध्य दुर्गम क्षेत्रका गर्भवती महिलाको उपचारका लागि निःशुल्क हवाई उद्धारदेखि सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई पूर्ण खोप लिनका लागि नगद ५ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने जस्ता जनमुखी कामलाई जोशीले महत्त्व दिए । जसले गर्दा समाजको पिँधमा रहेका नागरिकहरू लाभान्वित भए ।

क्यान्सर उपचारमा ५० हजार रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिँदै अन्य सरकारी तथा निजी अस्पतालमा समेत यो सेवा विस्तार गर्ने काम जोशीले आफ्नो कार्यकालमा सुरुवात गरे । जसले हालसम्म पनि निरन्तरता पाइरहेको छ ।

हृदयघात तथा मस्तिष्कघातका बिरामीका लागि उपचारमा १ लाख १० हजार रुपैयाँ सहुलियतलाई निरन्तरता दिँदै प्रदेश सरकार मातहतमा रहेका १३ वटा अस्पताल र संघीय सरकारसँगको समन्वयमा संघीय अस्पतालहरूमा सहुलियत पाउने व्यवस्था जोशीले आफ्नो कार्यकालमा गर्नुभयो ।

जोशीले थालेको यो जनउत्तरदायी व्यवस्थाले आर्थिक अभावकै कारण आकस्मिक उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका हजारौँ बिरामीले नयाँ जीवन प्राप्त गरेका छन् । साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै स्थानीय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ सेवा समेत प्रदान गरिएको छ ।

जोशीले आफ्नो गृहजिल्ला चितवनसँगै हेटौँडा, भक्तपुर, सिन्धुली, रामेछाप हुँदै रसुवासम्मका १३ जिल्लाका प्रदेश अस्पतालहरूको स्तरोन्नति र शय्या क्षमता विस्तारलाई प्राथमिकता दिनुभयो । हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा ३०० शय्याको व्यवस्था गर्नुका साथै अन्य अस्पतालमा पनि शय्या थपिएपछि प्रदेशमै स्वास्थ्य शिक्षा र प्रयोगात्मक अध्ययनका लागि आवश्यक पूर्वाधार तयार भयो ।

यसैको परिणामस्वरूप मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस, एमडी स्वास्थ्य क्षेत्रका विभिन्न विषयको अध्ययन–अध्यापन विस्तार भएको छ । स्वास्थ्य शिक्षाका लागि आवश्यक अस्पतालको पूर्वाधार र शय्या क्षमता विस्तार हुँदा नर्सिङलगायतका विषय अध्ययन गर्न चाहने विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय शिक्षा र प्रयोगात्मक अनुभवको अवसर पाएका छन् । यसले उच्च शिक्षा अध्ययनका लागि विदेशिनुपर्ने बाध्यता समेत कम गरेको छ । साथै पछिल्लो समय समाजमा देखिएको मनोसामाजिक समस्या समाधान गर्दै मानसिक स्वास्थ्य उपचारलाई सहज बनाउनका लागि हेटौँडा अस्पतालमा २५२ शय्याको मानसिक वार्ड समेत जोशीको कार्यकालमा स्थापना भएको छ ।

जोशीले गर्नुभएको अर्को महत्त्वपूर्ण काम हो—बायोमेडिकल वर्कसपको स्थापना । प्रदेशभित्रका अस्पतालका स्टोरमा प्रयोगविहीन अवस्थामा थन्किएका स्वास्थ्य उपकरणलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने र आवश्यकताअनुसार एक अस्पतालबाट अर्को अस्पतालमा स्थानान्तरण तथा साटफेर गर्ने व्यवस्था मिलाउन जोशीले प्रदेश स्वास्थ्य निर्देशनालयमा बायोमेडिकल वर्कसप स्थापना गर्नुभयो । जसले अस्पतालहरूलाई आवश्यक उपकरण खरिदका लागि राज्यले खर्च गर्ने ठूलो रकम बचत भएको छ ।

नागरिकले गुणस्तरीय उपचारका लागि सदरमुकाम र राजधानी धाउनुपर्ने अवस्था अन्त्य गर्न जोशीले नीति तथा कार्यक्रममा समावेश गरेर सुरु गरेको एक प्रदेश निर्वाचन क्षेत्र एवम् एक स्थानीय तहमा १५ शय्याको एक स्वास्थ्य संस्था सबलीकरण एवम् सुदृढीकरण कार्यक्रमले सामान्य स्वास्थ्य उपचार जनताको घरघरमा पुगेको छ ।

प्रदेशभित्रका विद्यालयमा विद्यार्थीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिँदै, नीति तथा कार्यक्रममा समावेश गरी कक्षा १२ सम्म अध्यापन हुने सम्पूर्ण विद्यालयमा एकैपटक विद्यालय नर्स नियुक्त गर्ने व्यवस्था जोशीले आफ्नो कार्यकालमा गरेको अर्को महत्त्वपूर्ण काम हो । अहिले प्रदेशभित्रका विद्यालयमा नर्सहरूले विद्यार्थीको मनोसामाजिक अवस्था, मानसिक स्वास्थ्य, महिनावारीका क्रममा देखिने समस्या तथा पोषणयुक्त खानासम्बन्धी सचेतना र आवश्यक सेवा प्रदान गर्दै आएका छन् ।

बेला–बेला प्रकोपका रूपमा देखिने डेंगु रोगलाई फैलन नदिनका लागि निःशुल्क परीक्षणको व्यवस्था सँगै दुर्गम क्षेत्रमा जान नचाहने चिकित्सकहरूका लागि विशेष प्रोत्साहनसहितको सेवाले दुर्गम क्षेत्रका बासिन्दाले समेत विशेषज्ञ चिकित्सकसँग परामर्श लिन पाइरहेका छन् ।

उत्तम जोशीले आफ्नो कार्यकालमा थालेको यस कामले आम जनतालाई स्वास्थ्य उपचारसँगै रोकथाम र सहज पहुँच दिने उहाँको तत्परता स्पष्ट रूपमा देखाएको छ ।
त्यससँगै स्वास्थ्य सेवा ऐन संशोधन गर्दै १० प्रतिशत विपन्नहरूका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनका लागि सामाजिक सेवा एकाइ स्थापना गरी काम गर्नुपर्ने व्यवस्था समेत गरियो । प्रादेशिक अस्पतालहरूमा विपद्, वन्यजन्तुको आक्रमणबाट भएका घाइते, विभिन्न दुर्घटनामा परेका घाइते तथा बिरामीहरूलाई सामाजिक एकाइमार्फत निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले उपचार अभावमा रहेका धेरै नागरिकहरूले आफ्नो जीवन रक्षा गरिरहेका छन् ।

स्वास्थ्य नीति तथा निर्देशिका निर्माण र स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने कार्यक्रम दीर्घकालीन नीतिसँग जोड्ने आधार तयार गरेको छ । सँगसँगै प्रदेशमा बसोवास गर्ने, लोपोन्मुख तथा सीमान्तकृत जातिहरू, आश्रममा आश्रित महिला तथा बालबालिका, अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिक र महिला स्वास्थ्य स्वयंसेविकाका लागि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदा जोशीलाई धेरै बेसहाराहरूले आफ्नो जीवनको सहाराका रूपमा प्राप्त गरेका छन् ।

लामो समयदेखि जनताको घरघरमा पुगेर सेवा गर्ने स्वास्थ्य स्वास्थ्यकर्मीहरूको सम्मानका लागि स्वास्थ्य स्वयंसेविका स्थापना दिवसको अवसर पारेर नगदसहित सम्मान गर्ने उदाहरणीय कामको अन्य प्रदेशहरूले समेत सिको गरिरहेका छन् ।

प्रदेशभरिका निजी, सामुदायिक र सरकारी अस्पतालमा पार्किङ सेवा निःशुल्क गर्ने व्यवस्था, आर्थिक रूपले विपन्न व्यक्तिको आकस्मिक उपचारका लागि आवश्यक रगत व्यवस्थापन गर्न ब्लड ब्याग र रक्त परीक्षण स्वघोषणामार्फत निःशुल्क गर्ने व्यवस्था समेत वागमती प्रदेशका सम्पूर्ण सरकारी अस्पतालमा गरिएको छ ।

९ महिना १६ दिनको कार्यकालमा गरिएका यी विभिन्न कामलाई हेर्दा जोशीले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन, आर्थिक अवस्थाका कारण उपचार रोक्न नपर्ने व्यवस्था गर्न, स्थानीय अस्पतालको क्षमता विस्तार गर्न साथै स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गर्न नगर अस्पतालहरूलाई सहयोग गर्ने काम प्रदेश सरकारले गर्‍यो । यस्ता कामहरूले जोशीको उद्देश्य रोकथाममुखी स्वास्थ्य प्रणालीको विकास गर्दै स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्नेतर्फ अग्रसर रहेको देखिन्छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन र नुवाकोटलाई २५ शय्या तथा अन्य १३ जिल्लाका आयुर्वेद स्वास्थ्य केन्द्रहरूलाई १६ शय्याको क्षमतामा स्तरोन्नति गर्ने काम जोशीले आफ्नो कार्यकालमा गर्नुभयो । चितवनको रत्ननगरमा रहेको आयुर्वेदिक औषधि उत्पादन केन्द्रबाट आवश्यक आयुर्वेदिक औषधि उत्पादन गर्ने र १८ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध हुने कामसमेत उहाँको कार्यकालमा भयो । साथै, बागमती प्रदेशको आयुर्वेद स्वास्थ्य नीतिलाई अन्तिम चरणमा पुर्‍याउने कामले प्रदेशमा आयुर्वेद स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नीतिगत आधार तयार गर्‍यो । आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्दै आयुर्वेदिक अस्पतालमा निःशुल्क फिजियोथेरापी तथा पुनर्स्थापना सेवा उपलब्ध गराउने काम भयो ।

त्यस्तै, प्रदेशका विभिन्न जिल्लामा आँखासम्बन्धी समस्या भएका नागरिकका लागि स्वास्थ्य निर्देशनालयमार्फत विशेष अभियान सञ्चालन गरी २५३ जना नागरिकको आँखासम्बन्धी समस्याको शल्यक्रियामार्फत उपचार गरिएको थियो ।

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै स्वास्थ्य सामग्रीसहित स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने काम भयो । यससँगै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि बागमती प्रदेशका अस्पतालमा निःशुल्क दन्त सेवा तथा दन्त सहायता सेवा कार्यान्वयनमा आउँदा धेरै ज्येष्ठ नागरिकहरूको मुहारको मुस्कान फर्किएको छ ।

स्वास्थ्य सेवालाई केवल अस्पताल र उपचारमा सीमित नराखी हेल्थ इन अल पोलिसीको अवधारणालाई समेत नीतिगत रूपमा अघि बढाउने काम जोशीको कार्यकालमा भएको छ । स्वास्थ्यसँग सम्बन्धित नीति तथा निर्देशिकालाई मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा लैजाने प्रयासले स्वास्थ्यलाई हरेक नीति र विकासको केन्द्रमा राख्ने आधार निर्माण गरेको देखिन्छ ।

त्यसैगरी, स्वास्थ्य सेवासँगै रोगको रोकथामलाई पनि प्राथमिकतामा राख्दै जोशीले शैलजा आचार्यसँग किशोरी एचपीभी खोप कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेर अगाडि बढाउनुभयो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई व्यवस्थित गर्दै शाखा एकाइ चितवनको भरतपुरमा समेत विस्तार गरियो । साथै प्रदेश तथा स्थानीय अस्पतालमा टेलिमेडिसिन सेवा विस्तार गरियो ।

जोशीको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयको परिसरमा रहेको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट १ सय ५० वटा एम्बुलेन्समा जीपीएस निःशुल्क जडान गरी टोल फ्रि नम्बर १०२ को माध्यमबाट चौबीसै घण्टा एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था गरियो ।

आकस्मिक उपचारलाई सहज बनाउन प्रदेशका अस्पतालमा आईसीयू र एनआईसीयू सेवा विस्तार, आवश्यक शय्या थप तथा अस्पतालको क्षमता बढाउने कामलाई जोशीले प्राथमिकता दिनुभयो ।

यसरी उत्तम जोशीको कार्यकालमा उपचारमा सहुलियत दिने मात्र होइन, रोकथाम, खोप, आयुर्वेद, विशेषज्ञ सेवा, आकस्मिक उपचार, अस्पतालको क्षमता विस्तार र नीतिगत सुधारसम्मका क्षेत्रमा काम अघि बढेको देखिन्छ ।

विभिन्न चुनौतीको सामना गर्दै आफ्नो कार्यकाल पूरा गर्नुभएका पूर्वमन्त्री जोशीले जनताको आवश्यकतालाई पहिचान गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि अझ व्यापक योजना बनाएर अगाडि बढ्न सकिने सम्भावना समेत उजागर गर्नुभएको छ । बागमती प्रदेशको स्वास्थ्य विकासको दीर्घकालीन राजनीतिक एजेन्डा र नीति बनाउन जोशीको अनुभव अत्यन्तै लाभदायक हुने देखिन्छ ।

कामलाई नीतिगत रूपमा सुधार गर्ने र बनेका नीतिलाई जनताको जीवन परिवर्तन र सहजताका लागि जोड्ने उदाहरणीय काम उत्तम जोशीको ९ महिने १६ दिने कार्यकालमा भएको देखिन्छ ।

२०८० जेठ ७ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा उत्तम जोशीसँग एउटा अवसर थियो—आफूलाई काममार्फत प्रमाणित गर्ने । आफ्ना व्यक्तिगत रहर र दलगत स्वार्थभन्दा माथि उठेर जोशीले मन्त्रालयमा रहँदा गरेका विविध कामहरू केवल निर्णय र फाइलमा सीमित छैनन् । तत्काल कार्यान्वयन भएर जनतालाई लाभान्वित भएका उहाँका कामहरूले जोशीको प्रशासनिक क्षमता, निर्णय क्षमता र जनतासँग जोडिएर काम गर्ने शैलीको एउटा तस्बिर पनि प्रस्तुत गरेको छ । राजनीतिमा पद स्थायी हुँदैन । तर पदमा रहँदा गरेको कामले बनाएको विश्वास भने दीर्घकालीन रूपमा रहन्छ ।

सानै उमेरमा २०४८ सालमा नेपाल विद्यार्थी संघ स्कुल कमिटीको अध्यक्ष भएर सुरुवात गर्नुभएको जोशीको राजनीतिक यात्रा स्थानीय राजनीतिहुँदै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिका सम्हाल्दै प्रदेश सभासम्म पुग्यो । अनि उहाँले प्रदेश सरकारको महत्त्वपूर्ण मन्त्रालय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभयो ।

निरन्तरको लगाव र समाजप्रतिको उत्तरदायित्वका कारण जनप्रतिनिधिको जिम्मेवारीसँगै स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अब्बल प्रमाणित हुनुभएका जोशीको राजनीतिक भविष्य कता जान्छ, त्यसको निर्णय उहाँ आबद्ध राष्ट्रिय पार्टी नेपाली कांग्रेसको आन्तरिक राजनीति, समय र जनताले गर्नेछन् । तर मन्त्रीको कुर्सीबाट बाहिरिँदा उहाँले आफ्नो कामबाट बनाएको पहिचान भने समाजमा दिगो बनेर रहेको छ । जुन उहाँको कमाइ हो, उपलब्धि हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट