राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

भरतपुर, २६ भदौ ।

नेपाली साहित्याकाशका नक्षत्र, माध्यमिक कालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टका दोस्रो सन्तानका रूपमा जन्मिएका भट्टको वि.सं. १९५३ सालको कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमा निधन भएको थियो ।

नेपाली साहित्यमा गजल विधाका पिता मानिने मोतीराम भट्टले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याएका छन् । बनारसमा अध्ययनका क्रममा उर्दू साहित्यबाट प्रभावित भई गजल लेखन सुरु गरेका उनले नेपाली भाषामा शृङ्गारिक गजल र कविता भित्र्याएर नयाँ आयाम थपेका थिए ।

भानुभक्तको खोजी र पहिलो समालोचना
मोतीराम भट्टले वि.सं. १९४८ मा आदिकवि भानुभक्त आचार्यको ‘जीवनचरित्र’ प्रकाशनमा ल्याई नेपाली साहित्यमा समालोचना र जीवनी लेखनको श्रीगणेश गरेका थिए। भानुभक्तको रामायण लगायतका कृतिहरू खोजी-खोजी सर्वसाधारणसमक्ष पुर्‍याउन र भानुभक्तलाई आदिकविका रूपमा स्थापित गराउन उनको मुख्य भूमिका रहेको थियो ।

बहुआयामिक व्यक्तित्व र साहित्यिक योगदान
आफ्नो करिब १५ वर्षको सक्रिय साहित्यिक यात्रामा २५ वटा भन्दा बढी कृतिहरू सिर्जना, सम्पादन तथा प्रकाशन गरेका मोतीराम भट्ट बहुआयामिक प्रतिभाका धनी थिए। उनले नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई मुख्य रूपमा पाँच पाटामा वर्गीकरण गर्न सकिन्छ:

जीवनीकार, समालोचक तथा अन्वेषक: भानुभक्तको जीवनीमार्फत प्रथम समालोचनाको सुरुआत।

कवि, गजलकार तथा गायक: शृङ्गार रसका गजल, कविता र गीतका माध्यमबाट साहित्यमा नयाँ मिठास ।

समस्यापूर्तिकार तथा सङ्गठनकर्ता: बनारसमा मित्रमण्डली गठन गरी साहित्यिक अभियान सञ्चालन ।

नाटककार तथा निर्देशक: नेपाली भाषामा मौलिक नाटक लेखन तथा मञ्चन ।

सम्पादक तथा छापाखानाका संस्थापक: वि.सं. १९३८ मा बनारसबाट ‘भारतजीवन’ पत्रिकाको नेपाली संस्करण र वि.सं. १९४५ मा काठमाडौँको ठहिटीमा ‘मोतीकृष्ण कम्पनी’ खोलेर नेपालमा पुस्तकालय तथा छापाखानाको जग बसालेको ।

दरबार हाईस्कुलमा कक्षा १० मा अध्ययनरत छँदै उनको अध्ययनशीलताबाट प्रभावित भई बेलायती प्रतिनिधि लर्ड राबर्टले उनलाई १५ वटा ग्रन्थ पुरस्कार स्वरूप प्रदान गरेका थिए। स्वदेशी कपडा, स्वदेशी व्यवहार र स्वदेशी भाषाको पक्षधर रहेका भट्टले नेपाली साहित्यलाई नयाँ दिशा दिएका थिए ।

सात महिनासम्म ओछ्यान परेका भट्टको १९५३ सालमा पशुपति आर्यघाटमा देहावसान भएको थियो । उनको योगदानको कदर गर्दै सरकारले हुलाक टिकट जारी गर्नुका साथै नेपाली साहित्यका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्न उनको नाममा ‘युवा वर्ष मोती पुरस्कार’ स्थापना गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट