नुवाकोट, २६ भदौ ।
भोटेकोशी नदीमा आएको बाढीले बगाएको नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल पाँच दिनमै पुनः सञ्चालनमा आएको छ ।
भदौ १० गते आएको भीषण बाढीले देवीघाटको पुल बगाएपछि विदुर र बेलकोटगढी नगरपालिकाबीचको आवागमनसँगै नुवाकोटलाई धादिङ र रसुवागढीसँग जोड्ने महत्त्वपूर्ण सडक सञ्जालसमेत प्रभावित भएको थियो । पुल बगेपछि स्थानीयवासीलाई आवतजावतमा ठूलो समस्या परेको थियो ।
सरकारले पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेपछि नेपाली सेनाले पाँच दिनमै ५७.९ मिटर लामो एक्रोब्रिज निर्माण गरेको हो । भदौ २० गतेदेखि निर्माण सुरु गरिएको पुल बिहीबार बेलुकादेखि सबै प्रकारका सवारीसाधनका लागि सञ्चालनमा ल्याइएको छ ।
पुल सञ्चालनमा आएपछि बाढी प्रभावित सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ । बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनीले पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्न दुई–तीन घण्टा लाग्ने गरेकोमा अहिले करिब २५ मिनेटमै पुग्न सकिने बताउनुभयो ।
“भोटेकोशी बाढीले नजिकै रहेको गाउँघर फर्किन पनि धौधौ भइरहेको थियो । नेपाली सेनाले छोटो समयमै पुल तयार पारेपछि बाढीले छियाछिया परेको मनमा केही हदसम्म खुसी महसुस भएको छ,” उहाँले भन्नुभयो ।
बेलकोटगढी–८ ढुङ्गानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि घरमा पुग्न सहज भएको बताउनुभयो । “भोटेकोशीको बाढीले पुल बगाउँदा सर्वस्व नै गुमाएजस्तो अनुभव भएको थियो,” उहाँले भन्नुभयो, “पुल बनेपछि आशा पलाएको छ ।”
नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार ५५ जना प्राविधिकको टोलीले दिनरात काम गरेर ७२ घण्टाको कार्यअवधिमै पुल निर्माण सम्पन्न गरेको हो । “नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि प्राविधिक टोली दिनरात खटिएको हो,” उहाँले भन्नुभयो ।
नेपाली सेनाले प्राविधिक परीक्षण गरेपछि पुल सञ्चालनमा ल्याएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले छोटो समयमै पुल निर्माण भएपछि बाढीका कारण टुटेको सडक सम्पर्क पुनःस्थापित भएको बताउनुभयो ।
“नेपाली सेनाको अथक प्रयासले छोटो समयमा नै पुल तयार भयो । यो पुल बनेसँगै पृथ्वीराजमार्गसँग टुटेको सम्पर्क जोडिएको छ,” उहाँले भन्नुभयो ।
पुल निर्माणमा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहकार्य गरिएको उहाँले बताउनुभयो । पुल नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले निर्माण गरेको हो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना, विदुरका योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार यसअघि देवीघाटको ५५ मिटर लामो बक्स गर्डर पुल बाढीले भत्काएपछि त्यसैको स्थानमा एक्रोब्रिज राख्न सहज भएको हो ।
उहाँका अनुसार रातोमाटे क्षेत्रमा बाँकी रहेको सडक कटिङको कामसमेत शुक्रबारसम्म सम्पन्न गरी सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।
नेपाली सेनाको १४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काका अनुसार देवीघाटमा जडान गरिएको एक्रोब्रिज सेनाको रणनीतिक जगेडा पुल हो । उक्त पुल गजुरीमा भण्डारण गरेर राखिएको थियो । “गजुरीबाट ल्याएर देवीघाटमा फिटिङ गरी सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो ।
नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार अमेरिकी प्रविधिमा आधारित एक्रोब्रिज गुणस्तरीय र उच्च भारवहन क्षमताको हुन्छ । पुलको भारवहन क्षमता ६० टन रहेको उहाँले जानकारी दिनुभयो ।
रासस





