`पठन संस्कृति हराएको होइन, झन् मौलाएको छ´

भरतपुर, १६ जेठ ।
‘पठन संस्कृति : उत्कर्ष कि अपकर्ष ?’ शीर्षकमा शनिबार चितवनमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेपालमा पठन संस्कृति हराएको नभई समयअनुसार नयाँ स्वरूपमा विस्तार हुँदै गएको बताएका छन् ।

बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) अन्तर्गत आयोजित उक्त सत्रमा पाठक, लेखक, प्रकाशक तथा पुस्तक व्यवसायीहरूले वर्तमान पठन प्रवृत्ति, पुस्तक छनोट, डिजिटल माध्यमको प्रभाव र पठन संस्कृतिको भविष्यबारे आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रा.डा. कर्णबहादुर बानियाँले सहजकर्ताको भूमिका निर्वाह गर्दै कस्ता कृति पढ्ने, किताबको छनोट कसरी गर्ने, बजारमा कस्ता पुस्तक बढी बिक्री भइरहेका छन् र पठन संस्कृतिलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा प्रश्न राखेका थिए ।

पाठक उदय अधिकारीले के पढ्ने र किन पढ्ने भन्ने विषयमा पाठक स्वयं गम्भीर हुनुपर्ने बताए । फरक–फरक पाठकका रुचि पनि फरक हुने उल्लेख गर्दै उनले अहिलेका पाठक सबैभन्दा सचेत र चलाख भएको धारणा व्यक्त गरे ।

डिजिटल युगले पढाइलाई अझ सहज बनाएको भन्दै उनले डिजिटल माध्यम पनि अध्ययनका लागि प्रभावकारी साधन बनेको बताए ।

कवि तथा लेखक सरिता तिवारीले पुस्तक छनोट देश, काल र परिस्थितिसँग जोडिने बताइन् । पाठकको रुचि समयअनुसार परिवर्तन हुने उल्लेख गर्दै उनले सामाजिक सञ्जाल र डिजिटल माध्यमले पाठकलाई विविध रुचिअनुसारका सामग्री उपलब्ध गराएको बताइन् । उनका अनुसार किताब ज्ञानको अभिलेखीकरण गर्ने महत्वपूर्ण माध्यम हो ।

प्रकाशक तथा शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले पुस्तकको पाण्डुलिपि अध्ययन गरेपछि मात्र प्रकाशन प्रक्रिया सुरु गरिने जानकारी दिए । आफ्ना प्रकाशनका पुस्तकलाई पाठकले निरन्तर माया गरिरहेको उल्लेख गर्दै उनले किताबलाई एउटा महत्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गरे । डिजिटल माध्यमको विस्तार भए पनि पुस्तकको महत्त्व कम नहुने उनको भनाइ थियो ।

‘सम्पूर्ण किताब’ नारायणगढका सञ्चालक लेखराम सापकोटाले पुस्तक बजारको प्रवृत्ति परिवर्तन हुँदै गएको बताए । कुनै समय उपन्यासको बजार बलियो भए पनि अहिले गैरआख्यान पुस्तकको माग बढेको उनको भनाइ थियो । बालबालिकाले प्रेरणादायी कथा र जीवनी तथा पाठ्यक्रम सहयोगी पुस्तक रुचाउने, युवाले प्रेमकथा र उपन्यास पढ्न मन पराउने तथा प्रौढ पुस्ताले धर्म, दर्शन, इतिहास, भूगोल र राजनीतिसम्बन्धी पुस्तक रोज्ने गरेको उनले बताए ।

विद्यालयस्तरमा पठन संस्कृति विस्तार गर्ने उद्देश्यले ‘म पनि पढ्छु’ अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै सापकोटाले आफ्नो अभियानले पुस्तक पढ्ने संस्कृतिलाई थप मजबुत बनाएको दाबी गरे । चितवनका अधिकांश विद्यालयले अभियानलाई साथ दिएको उनले जानकारी दिए । डिजिटल सामग्रीभन्दा मुद्रित पुस्तक पढ्न सहज हुने र स्वास्थ्यका दृष्टिले पनि पुस्तक अध्ययन लाभदायी रहेको उनको भनाइ थियो ।

चितवन उद्योग वाणिज्य सङ्घ, नारायणगढमा जेठ १६ र १७ गते सञ्चालन भइरहेको बागमती साहित्य महोत्सव–२०८३ अन्तर्गत आयोजित उक्त छलफलमा सहभागीहरूले पठन संस्कृतिको प्रवर्द्धनका लागि परिवार, विद्यालय, पुस्तकालय र समुदाय सबैको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शनिबार बिहान उद्घाटन गरेको महोत्सव आइतबार समापन हुनेछ । शनिबार विभिन्न जातजातिका झाँकी, नाच, कवितावाचन शुभकामना मन्तव्यसँगै छलफलका कार्यक्रम पनि गरिए ।

महोत्सवअन्तर्गत शनिबार विभिन्न विषयमा केन्द्रित साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न भए । ‘नेपाली साहित्यमा नारी लेखन’ विषयक छलफलमा डा. अर्चना थापा, डा. रजनी ढकाल र गायत्री श्रेष्ठले महिला लेखनको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विचार राखेका थिए । उक्त सत्रको सहजीकरण डा. नवीनबन्धु पहाडीले गरेका थिए ।

त्यसैगरी ‘पर्यासाहित्यको आँगन : फराकिलो कि साँघुरो ?’ विषयमा आयोजित अर्को छलफलमा कमलनङ्ग कुँवर, डा. रोशन शेरचन र लक्ष्मी रुम्बाले वातावरण, प्रकृति र साहित्यबीचको सम्बन्ध तथा नेपाली पर्यासाहित्यको वर्तमान अवस्थाबारे धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण विष्णुप्रसाद आचार्यले गरेका थिए ।

महोत्सवमा साहित्यिक छलफलसँगै नाट्य तथा काव्य प्रस्तुति पनि समावेश गरिएको थियो । रंगकर्मी देव श्रेष्ठले ‘वर्तमान नेपाली नाटकको तस्बिर’ शीर्षकमा प्रस्तुति दिएका थिए भने ‘पतझड’ शीर्षकको नाटक मञ्चन गरिएको थियो ।

‘नदीसँग कविता’ शीर्षकको विशेष काव्य सत्रमा बागमती प्रदेशका सबै जिल्लाका करिव ३० जना कविले नदी, प्रकृति, जीवन र सभ्यतासँग सम्बन्धित कविता वाचन गरेका थिए । उक्त सत्रले महोत्सवमा सहभागी साहित्यप्रेमीहरूलाई विशेष आकर्षित गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट