कविडाँडा साहित्य समाजको वार्षिकोत्सवमा दुई जना स्रष्टा सम्मानित

भरतपुर, ९ जेठ ।
कविडाँडा साहित्य समाज चितवनको २३ औँ वार्षिकोत्सव समारोहमा अग्रज साहित्यकार तथा कृतिकारलाई सम्मान गर्दै साहित्यिक विमर्शसमेत गरिएको छ । समारोहमा दुई जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कविडाँडा साहित्य सम्मान तथा देव–खिना स्मृति पुरस्कार–२०८३ बाट अग्रज स्रष्टा पोषराज पौडेल सम्मानित भएका छन् भने कविडाँडा कृति पुरस्कार–२०८२ बाट उपन्यास ‘बखान’ का लागि साहित्यकार वसन्त पराजुली पुरस्कृत भएका छन् ।

संस्थाका अध्यक्ष एलबी क्षेत्रीले दोसल्ला ओढाएर तथा सयपत्रीको माला लगाइ जनही १५ हजार १६० रुपैयाँसहित सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा समीक्षक डिआर पोखरेलले सम्मानित स्रष्टा पोषराज पौडेलको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै उहाँ सरल, विनोदी र साहित्यिक चेतनाले सम्पन्न व्यक्तित्व भएको उल्लेख गरे ।

त्यसैगरी साहित्यकार वसन्त पराजुली र उहाँको चर्चित कृति ‘बखान’ माथि पनि विशेष कृति चर्चा गरिएको थियो । समालोचक एकनारायण पौड्यालले ‘बखान’ को चर्चा गर्दै यो उपन्यास वीर योद्धा बखानसिंह गुरुङको योगदान र जीवनसंघर्षलाई आधार बनाएर लेखिएको बताए । उनले इतिहास, व्यक्तित्व र सामाजिक यथार्थलाई साहित्यिक शैलीमा प्रस्तुत गर्ने प्रयास उपन्यासमा देखिएको उल्लेख गरे ।

कार्यक्रममा पृथ्वीनारायण बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कुसुमाकर न्यौपानेले सम्मानित दुवै स्रष्टालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँहरूको साहित्यिक योगदान नेपाली साहित्यका लागि प्रशंसनीय रहेको बताए ।

२०६० सालमा स्थापना भएको कविडाँडाले सम्मान, कृति चर्चा र साहित्यिक संवादमार्फत चितवनको साहित्यिक गतिविधिलाई थप ऊर्जा दिएको अध्यक्ष एलबी क्षेत्रीले बताए । कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट