‘चिसो बाकस’ सुन्दै जिज्ञासा पैदा गर्ने शीर्षक । नेपाली साहित्यको एउटा पठनीय सङ्ग्रह । ‘चिसो बाकस’ (२०८१) कवितासङ्ग्रहका सर्जक एकदेव रिमाल हुन् । नवलपरासी जिल्लालाई आफ्नो कर्मक्षेत्र बनाएर सामाजिक गतिविधिमा संलग्न रिमालको पहिलो कवितासङ्ग्रहको रूपमा ‘चिसो बाकस’ प्रकाशित रहेको छ । गैँडाकोट प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित कवितासङ्ग्रहभित्र जम्मा ५१ ओटा कविताहरू सङ्गृहीत रहेका छन् । आयामका हिसाबले कविताहरू छोटा र मध्यम आकारका छन् । समयको पीडालाई कवि आत्मसातीकरण गरेर शब्दहरूमा उन्दै कविता बनाइरहेका छन् ।
कविता लेख्नुभन्दा कविता बन्नु ठूलो कुरो हुन्छ । बनेका कविता पाठकको जाँचबाट पास हुनु झन् ठूलो कुरा हुने रहेछ । त्यसका लागि कविताले निकै लामो यात्रा पार गर्नुपर्ने देखिन्छ । कविताको विषय के छान्ने मात्र नभएर छानिएका विषयलाई कसरी बुन्ने भन्ने कुरामा कविको साधना पक्ष हेर्नु पर्ने हुन्छ । प्रत्येक स्रष्टा आफूलाई समयको गतिमा पोख्न आतुर देखिन्छन् । पोखिन आतुर भएर मात्र हुँदैन । कलात्मक पक्षलाई निकै राम्ररी ध्यान पु¥याउन नसके कविता लेख्नेको लागि मात्र हुन पुग्छ न कि पाठकको पठन विषय । हाम्रो समाजमा राजनीति राम्ररी रन्किरहेको छ ।
समस्याको समस्याभन्दासमयको पीडा बनेर राजनीति छताछुल्ल भएको अवस्थामा कवि मन पनि पक्कै बिथोलिएको छ । कविको मन पग्लने र बिथोलिने नभए कविता जन्मने स्थिति हुँदैन । मान्छे प्रवृत्तिको एउटा पक्ष हो । मान्छे आफूलाई केन्द्रमा राखेर अरूलाई उपभोगका वस्तु मात्र मान्छ । हो यही छ समस्या मान्छेको अनि मानिसहरूको नेतृत् वगर्ने राज्यपक्षको । यिनै विषयवस्तुहरूलाई कतै झटारो हाने जसरी कतै व्यङ्ग्य कसेर त कतै निकै चिन्तित बनेर कवि एकदेश कलमका निबबाट विचार अभिव्यक्त गर्न पुग्दछन् ।
कविताहरूबाट कवि चिन्ने प्रयास गर्ने यस पङ्क्तिकारको आफ्नो स्वभावका कारण पनि व्यक्ति रिमालद्वारा लिखित कविताको स्वर कस्तो छ ? भन्ने विषय लेखको केन्द्रीय विषय बन्न पुगेको छ । पछिल्लो गणतन्त्रकालीन यात्राले राजधानीलाई राम्ररी पाठ सिकाएको छ । पालिका स्तरमा गठित प्रतिष्ठानहरूले यति राम्रा काम गरेका छन् कि आफूलाई केन्द्रीय प्रज्ञा–प्रतिष्ठान भन्ने संस्थाहरूलाई निकै दबाब परेको छ ।
हो, खासमा सङ्घीयताको एउटा राम्रो अभ्यास गर्ने संस्थाका रूपमा गैँडाकोट प्रज्ञा–प्रतिष्ठान पनि एक हो । जहाँ स्रष्टा त्यहीँ प्रकाशन र गतिविधिलाई केन्द्रित गर्न सके सिङ्गो फूलबारीमा जता फूल फुले पनि वास्ना सबैतिर पुग्छ । केन्द्र त प्रतिभाको साधनाले टुङ्गो लगाउने कुरा हो । केन्द्र त संस्थाको संस्थागत विकासले किटान गर्ने विषय हो । साधनाका लागि सिंहदरबार आसपास डुल्ने र भाइरल नेताको वरिपरि घुम्ने गर्नु पर्दैन । यही उदाहरणका रूपमा गैँडाकोट प्रज्ञा–प्रतिष्ठान, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थाले आफूलाई प्रस्तुत गरिसकेका छन् ।
कवि एकदेव रिमाल पूर्वीय सभ्यताबाट ब्युझिएका कवि हुन् । उनका कवितामा समाजको उषाकालीन विकास यात्रा र चेतना निर्माणको पक्षलाई समेटेर विवेचना गर्ने भएको छ :
नीला पहाडका कछारमा
जन्मने बाल सूर्यका
पहिलो मातृत्व हुन् मेरी आमा
उनको लोली
र उनको मातृत्वको गङ्गा
हरदिन पोखिएको हुन्छ
तुलसीका जरामा । (पृ. ३, आमा र तुलसीको मठ)
तुलसी बहुऔषधीय गुण भएको वनस्पति हो । धर्मभीरुहरूका लागि त प्रयोजन भन्दा बढी एउटा ढोंग होला । आमा अर्थात् सृष्टिकर्तासँग सृष्टिका रचनाहरूलाई हुर्काउने दायित्व पनि छ । त्यसैले त आमा बहुऔषधीय गुण भएको वनस्पतिलाई आफ्नो हातले प्रत्येक दिन प्राथमिकताका साथ स्याहार गर्दछिन् । विज्ञानसँग जीवनलाई जोड्न कविता निकै सहयोगी बनेको देखिन्छ । प्रतिभाले केन्द्र निर्माण गर्ने कि ! केन्द्रले प्रतिभालाई चाकरी गर्न सिकाउने ? यतिबेला प्रश्न जर्जर बनेर देखा परेको छ । कवि आफ्नो आलोचकीय चेत कवितामार्फत् नै पोखिदिन्छन् । कवि प्रज्ञालाई मात्र प्रज्ञा–प्रतिष्ठानको जागिरसँग जोड्नेहरूप्रति निकै कटाक्ष गर्न पुग्दछन् । शब्दको अर्थ भन्दा अर्थ प्रयोजनीय पक्षलाई मान्छेले महत्त्व दिएकोमा कविको व्यङ्ग्यको निशाना त्यति सोझिएको छ :
सबै हुन्छन् हाम्रा प्राज्ञसँग
प्रज्ञाको एउटा चक्षु हुँदैन । (पृ. ३१ प्राज्ञ)
कविले हुनुपर्ने कुरा धेरै थियो जे नहुनु पर्ने त्यही मात्र रहेकोप्रति हामीलाई तत्त्वबोध गराइदिएका छन् । साँच्चै जीवन दिनका निम्ति प्रवृत्तिको गहिरो भण्डारबाट मान्छेले कलाको आँखा लगाएर मानवीय योजनाको विशाल ज्ञानमार्ग देखाउन सक्नुपर्दछ । त्यसो भइराखेको छैन केवल संवेदनाशून्य पटकथाहरू प्रदर्शन गरेर मान्छे घमण्ड प्रस्तुत गरिरहेको छ । त्यही भएर त आज :
चस्माहरू बिक्छन्
आँखाहरू ढाकिन्छन्
उज्यालाहरू छोपिन्छन्
अँध्यारोले युग डोर्याउँछ । (पृ. ३०, प्राज्ञ)
मान्छे सम्पन्नताको शहर पुग्न विकृत मार्ग पछ्याइरहेछ । समाजलाई प्रगतिशील मार्गमा गतिशील तुल्याउँदै हिँड्नु पर्नेहरू बिक्रीका वस्तुहरू भएका छन् । चेतनालाई नै बन्धक राखेपछि रहने शब्दले त केवल सत्ता रूपको कुर्सी ओगट्ने मात्र हो । छाड अब यस्ता नाजायज वा लाजलाग्दा गतिविधि र समाजलाई कम्तीमा नगठ । कविको काव्य साधनाले यही कुरालाई उचित ठह¥याएको छ अनि पाठकलाई सहमत पनि तुल्याएको छ । मान्छे पारिवारिक सम्बन्धको एउटा सङ्केत सेतु पनि हो । ऊ आफूलाई त्यसबाहेक अन्त लैजान पनि सक्दैन । मान्छेलाई मान्छेको संवेदना भन्दा ठूलो अर्को छैन तर मान्छेले गर्ने गतिविधिले प्रवृत्तिलाई विनाश पार्ने पछिल्ला कदमहरू सर्वथा भत्र्सना योग्य छन् । मान्छे उन्नत प्राणी घोषणा गर्दै सबै वस्तु र विषयमाथि यसरी हमला गरि यही जीवनकालमै भोग गर्नुपर्छ :
टाइ र सुटमा सजिएर
बुख्याचाहरू उभिरहेछन्
धानका फाँटहरूमा
तरकारीका बारीहरूमा
यिनका छद्म औतारले
झस्किरहेछन् बाँदरहरू
झुक्किरहेछन् चराहरू । (पृ. १०५, बुख्याचाहरू)
मान्छे प्रवृत्तिको विशाल लयलाई आफ्नो हातमा लिन बुख्याचा निर्माण गरिरहेछ । मान्छे नै बुख्याचा बनेर कमजोर सावित भएको वर्तमान त्यति सन्तोषजनक छैन । सिकाउनु पर्नेबाट सिक्न नसक्नेहरू पनि आफूलाई गुरु ठान्ने भुल गरिरहेका छन् ।
यस्तो लाग्छ कवि रिमालका ५१ ओटा कविताहरूभित्र ५२ ओटा स्वर छ । प्रत्येक कविता अभिधाभन्दा लक्षणा अर्थमा रङ्गिएका छन् । कहिले त भन्न मन लाग्छ कवि एकदेव किन यस्ता मान्छेका स्वार्थी सोच भत्काउने खालका कविता लेखिरहेका छौ ? कवि प्राचीन न्याय प्रणालीलाई सम्झिएर नव्य न्यायको पाटोमा भइरहेको षड्यन्त्रको पर्दाफास गर्न चाहन्छन् । कविले प्रयोग गरेका विम्बहरूले हाम्रा पूर्वीय सभ्यताका साहित्यिक ग्रन्थहरूको खोजी गर्दछ । आदर्श विचारलाई पछ्याएको अभिनय गर्ने नेतृत्वको गालामा लपेटा हानेको छ । हामीले हाम्रो जीवनयापनका निम्ति तय गरेका मौलिक हस्तकला र शिल्पकलालाई मात्र छाडेका छैनौँ, हामी त प्राकृतिक श्वासप्रश्वासबाट निकै टाढा पुगिसकेका छौँ । अर्काको सहयोग र अनुदान विना एकछिन पनि अडिने आँट हामीमा छैन यस्तो अवस्थालाई कविले ‘हराएछ’ शीर्षकको अन्त्य भागमा भने जस्तै :
हो नि !
विस्तारै–विस्तारै
घामको तापै हराएछ । (पृ. १२, हराएछ)
कविको काव्यकर्ममा निकट विगत र आगतप्रति त्यति नै चिन्तार चासो देखिन्छ । कवि विगतबाट विज्ञान लिने र आगतमा नैतिकता बाँकी राख्ने हो भने मात्र हाम्रो मानव सभ्यताले केही सिक्न सक्छ भन्ने ठाउँमा पुगेका छन् । हामीले देखेको उजाड बगर केवल बगर होयन त्यो त आवेगी वर्षा कुरिरहेको एउटा तिर्खालु उपभोक्ता हो । यस कुरा कविले ‘बगरको तिर्खा’ शीर्षकमा फरक तर गहिरो हिसाबले प्रस्तुत गरेका छन् ।
कतै देवकोटाको स्वच्छन्दतावादी चेष्टा त कतै भूपि शेरचनको व्यङ्ग्यको कसाइले उनका कवितालाई अमूर्त लेखनका कवि ईश्वरबल्लभ जस्तो तुल्याइदिएको छ । नेपाली माटो र हाम्रो देश नेपालको विविध पक्ष र पाटो भित्र उनिएका उनका कवितामा सपना उतै हराएर मात्र मुढो फर्किएको चिसो बाकसको वर्णन पीडा पनि त कम छैन । नेपाल जस्तो निम्न दक्षता भएको श्रमिक विश्व बजारमा आपूर्ति गर्न मान्छे जन्माउने देशका नागरिक जोखिम मलेर जीवनका म्याराथुन गर्दा लाखौँ युवा सपना नेपालको देखे पनि हड्डी खाडीमा घोटिरहेकै छन् । निकै शक्तिशाली विम्बमा कवि आफ्नो कविताभित्र आजको टड्कारो विषयलाई कलात्मक ढङ्गले राखिदिन्छन् :
जम्दछु अनन्त
कल्पवृक्षको
मेप ….
ढुसढुसी गन्हाएको
चिसो बाकसमा । (पृ. ६९, चिसो बाकस)
कविता सुरुबाट अन्त्यसम्म पढ्दै जाँदा हाम्रो अहङ्कारमा आक्रमण गर्न सफल छ । तुफानी बेगमा अगाडि बढेको स्वार्थको राजमार्गमा कविताले शीताङ्ग बनाएर बेग रोकिदिन्छ । कविता तीतो यथार्थको एउटा कलात्मक वर्णनमय पाठ बनेको छ । कविताहरू पढ्दै जाँदा लाग्छ कवि एउटा प्रकृतिको राम्रो पाठक हो । उसले वाचन गरेका पाठ, सुन्नेहरू सुनिरहन चाहन्छन् उसकै मुखबाट अरू पाठहरू पनि । कवि एकदेव रिमालले आँखा चिम्लिएर आफूलाई लागेका कुरा पोखिदिएका छन् । कतै समाजले केही भन्छ कि होइन; समाजलाई केही सुनाउन उनका रचना तल्लीन भएझैँ लाग्छ । ‘बाआमाको गुरुत्व’ कविता कविको कल्पना त हो यो आम मानिसको मनभित्रको कुरा पनि हो । त्यसैले त घरलाई पहिलो पाठशाला भनिएको हो । आमालाई जीवनयात्राकै प्रमुख गुरु । प्रकृतिलाई शिक्षाको निम्ति सिङ्गो पाठको रूपमा नमान्नु पर्नै कारण नै छैन । कवि एउटा गहिरो विश्वासमा बाँचेको मान्छे त्यही विश्वासको सेरोफेरोलाई जीवनको मूलबाटो बनाउँछु भन्ने प्रमाण कवितामार्फत् पेश गर्दछन् :
मलाई लाग्दछ
कुखुरा नबासेसम्म
बिहान जन्मदैन
आमाले नखोलेसम्म
दैलो उघ्रिँदैन
बाले बान्नेको बडहर
नहल्याएसम्म
सूर्य खुल्दैन । (पृ. ९४, बाआमाको गुरुत्व)
कवि सबैमा प्रकृतिको एउटा सर्वसत्य विम्बलाई मिसाउँछन् । कविता हो र पनि शास्त्रीय ग्रन्थको मानौँ प्रमाण नखोजी काट्नै नसक्ने तर्क जसरी आफ्ना विचार फिजाउँछन् ।
एउटा पाठक स्वाद लिएर कविता पढ्न चाहन्छ । स्वाद लिन वस्तुको गुण पहिल्याउनु प¥यो । त्यसमा रहेको पोषणको मात्रा पनि हेर्न प¥यो । लाग्छ कवि एकदेव पाठकलाई निकै जटिल खालको विषय पस्किरहेका छन् । कविता अलि बुझ्न कठिन छ । एक पटकमा नबुझिने रचना मान्छेले पटक–पटकको प्रयासमा पनि बुझ्न खोज्दो हो ।
पटक–पटक खाँदा पनि मीठो खानेकुराले पाचन प्रणालीमा पुर्याउने हित र अहित सोचेजस्तै उपभोक्ताको अदालतमा रिमाल क्लिष्ट कवि हुने मेरो तर्क छ । फेसबुकको फ्यास्सफुस्स सूचनामा बहकिएको समाज, भाइरल नेतृत्वले रङ्गिएको राजनीति अनि महाठगहरूले ठग्दा पनि ब्वाँसोको कन्याइमा आनन्द मानिरहेको मेरो मानसपटलमा ‘चिसो बाकस’ एउटा कवितात्मक सुनामी, तपस्वीको तययात्रा र एउटा शिल्पीको होनाहार कला हो जुन सम्बन्धित पारखीले गहिरो गरी बोध गर्न सक्ला । मेरो भने यति मात्र प्रतिक्रिया दिने हैसियत हो ।




