भरतपुर, ४ जेठ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० ले इन्धनको मितव्ययी प्रयोग गर्न तथा वैकल्पिक उपाय अवलम्बन गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ । वडा कार्यालयले आइतबार सार्वजनिक गरेको सूचनामा पछिल्लो समय विश्वका विभिन्न स्थानमा देखिएका द्वन्द्व र युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या सिर्जना भएको र त्यसको असर नेपालमा समेत देखिन थालेको उल्लेख गरिएको छ ।
वडा कार्यालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा त्यसको प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्न थालेको छ । इन्धनको मूल्यवृद्धिका कारण यातायात, खाद्यान्न, निर्माण सामग्री लगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको छ भने आम नागरिकको दैनिक जीवनयापनमा थप आर्थिक भार बढेको जनाइएको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै वडा नं. १० ले आफ्नो क्षेत्रभित्रका सरकारी कार्यालय, गैरसरकारी संघ–संस्था, शैक्षिक प्रतिष्ठान, टोल विकास संस्था, व्यवसायी तथा सर्वसाधारणलाई इन्धनको प्रयोगमा संयमता अपनाउन आग्रह गरेको हो ।
सूचनामा अत्यावश्यक कामबाहेक पेट्रोल तथा डिजेलबाट सञ्चालित सवारी साधनको प्रयोग कम गर्न अनुरोध गरिएको छ । छोटो दूरीका यात्राका लागि साइकल प्रयोगलाई प्राथमिकता दिन तथा पैदल हिँड्ने संस्कार विकास गर्न पनि सुझाव दिइएको छ । साथै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ ।
त्यस्तै, कार्यालय तथा संस्थागत कामका लागि एउटै सवारी साधन साझा रूपमा प्रयोग गर्ने ‘राइड सेयरिङ’ संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरिएको छ । यसले इन्धनको खपत घटाउनुका साथै सवारी चाप कम गर्न र वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष रेशमराज थापाद्वारा जारी सूचनामा नागरिकको सानो प्रयासले व्यक्तिगत बचत मात्र नभई राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन तथा वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको छ । संकटको समयमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै सबै पक्षबाट सहयोग र सहभागिताको अपेक्षा पनि वडा कार्यालयले गरेको छ ।




