भरतपुर, ७ जेठ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० ले सामाजिक सद्भाव र शिक्षाको क्षेत्रमा उदाहरणीय काम गरेको छ । मुस्लिम समुदायको महान् पर्व कुर्बानीको पावन अवसर पारेर वडा कार्यालयले स्थानीय मुस्लिम बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो ।
वडा कार्यालयले अल आमेअतुल बरकातीया, जामे मस्जिदलाई विद्यार्थीहरूको सिकाइमा टेवा पुगोस् भनी विभिन्न धार्मिक तथा नियमित शैक्षिक सामग्री प्रदान गरेको हो ।
विशेष कार्यक्रमका बीच भरतपुर–१० का कार्यवाहक वडाध्यक्ष ऋषि थापाले संस्थाका प्रतिनिधिहरूलाई विद्यार्थीका लागि आवश्यक कुरान, काइदा, आमपारा का साथै कापी र कलम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्यवाहक वडाध्यक्ष थापाले शिक्षाको माध्यमबाट नै समुदायलाई बलियो बनाउन सकिने विश्वास व्यक्त गरे ।
शैक्षिक सामग्री प्राप्त गरेपछि मस्जिदका प्रतिनिधि तथा अभिभावकहरूले वडा कार्यालयको यो कामले बालबालिकाको हौसला बढाएको भन्दै खुसी व्यक्त गरेका छन् । वडाले चाडपर्वको अवसरमा देखाएको यो सक्रियताले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको उनीहरुको भनाइ छ ।



