छोरीको जन्मदिनमा मानवीय उपहार : विपन्न छात्राको कक्षा १२ सम्मको शैक्षिक जिम्मेवारी

गैंडाकोट, ६ जेठ ।
आफ्नी छोरीको पहिलो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गैंडाकोटस्थित आशाही एजुकेसनका सञ्चालक दम्पती अर्जुन पराजुली र विनीता पराजुलीले एकजना विपन्न छात्राको शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन् ।

गैंडाकोट नगरपालिका–८ स्थित कालिका माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत अति विपन्न परिवारकी छात्रा दीपिका ढुङ्गानाको कक्षा १२ सम्मको शैक्षिक जिम्मेवारी पराजुली दम्पतीले लिएका हुन् । उनीहरूले छात्राको अध्ययनका लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्री, विद्यालय शुल्क, विद्यालय पोशाक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

उक्त सहयोग आफ्नी छोरी शिवाङ्गी पराजुलीको पहिलो जन्मदिनको अवसर पारेर प्रदान गरिएको हो। छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गैंडाकोट वडा नम्बर ८ का वडा सदस्य खगराज सापकोटाले जन्मदिन जस्ता व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्नु अनुकरणीय कार्य भएको बताए । आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने उल्लेख गर्दै उनले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राखे ।

त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष गङ्गाधर सापकोटाले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि यस्ता सहयोग अत्यन्त महत्वपूर्ण हुने बताए । सामाजिक सहयोग र विद्यालयबीचको सहकार्यले विद्यार्थीको भविष्य निर्माणमा ठुलो योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

छात्रवृत्ति प्रदान गर्ने अर्जुन पराजुलीले आफ्नी छोरीको जन्मदिनलाई केवल औपचारिक उत्सवमा सीमित नराखी समाजका आवश्यकतामुखी कार्यसँग जोड्ने उद्देश्यले उक्त निर्णय गरिएको जानकारी दिए। शिक्षा नै जीवन परिवर्तनको प्रमुख आधार भएकाले दीपिकाको अध्ययन निरन्तरता र उज्ज्वल भविष्यका लागि आफूहरू प्रतिबद्ध रहने उनले बताए ।

कार्यक्रममा एन्फा रेफ्री अमित घिमिरे, अजय राना, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले पराजुली दम्पतीको कार्यलाई उदाहरणीय सामाजिक अभियानका रूपमा प्रशंसा गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट