मकवानपुरमा चार साहित्यिक स्रष्टा सम्मानित हुने

मकवानपुर, ४ जेठ ।
मकवानपुरको साहित्यिक संस्था मातृभूमि साहित्य समाजले हेटौंडामा आयोजना गर्न लागेको ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा चार जना साहित्यिक स्रष्टालाई सम्मान गर्ने भएको छ ।

समाजले गजलकार प्रदीप रोदनलाई ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’, साहित्यकार राजकुमार लामिछानेलाई ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’, छन्दकवि बासुदेव पाण्डेय ‘प्रभाकर’लाई ‘होमनाथ बलदेवी छन्द साहित्य सम्मान–२०८२’ तथा स्वस्तिका बानियाँलाई ‘मंगलादेवी स्मृति मातृभूमि सम्मान–२०८२’ प्रदान गर्ने जनाएको छ ।

आगामी जेठ ९ गते शनिबार हेटौंडामा आयोजना हुने उक्त उत्सव हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन हुने सचिव किशन पौडेलले जानकारी दिनुभयो । सम्मान कार्यक्रमसँगै अन्तरसंवाद तथा कार्यपत्र प्रस्तुतिका कार्यक्रमसमेत समावेश गरिएका छन् ।

उत्सवमा ‘नारी स्रष्टाको साहित्य सिर्जनामा पुरुष अभिव्यक्ति’ विषयमा विशेष अन्तरसंवाद आयोजना गरिनेछ । कार्यक्रममा समालोचक चेतना शर्मा, अनिता कोईराला र उपन्यासकार कल्पना खरेलले बहसमा सहभागिता जनाउनेछन् भने साहित्यकार डा. निमेष निखिलले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, समालोचक डा. ज्ञानु अधिकारीले ‘साहित्यमा आध्यात्म दर्शन’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा अनिता कोईरालाले टिप्पणी गर्ने कार्यक्रम तय गरिएको छ । साथै समालोचक घनश्याम घिमिरेले ‘साहित्यमा कृत्रिम बौद्धिकता’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने त्यसमा साहित्यकार डीबी बर्तौलाले टिप्पणी गर्नेछन् ।

२०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले नेपाली भाषा तथा साहित्यको विकास र प्रवर्द्धनका लागि स्थापित तथा नवोदित प्रतिभाहरूलाई प्रोत्साहन गर्दै आएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट