भरतपुर, ६ जेठ ।
भरतपुर महानगरपालिका–१२ ले घरवारविहीन अवस्थामा रहेका दुई परिवारलाई स्थायी आवासको व्यवस्था गरी गृहप्रवेश गराएको छ । वडा कार्यालयको पहलमा वडा नम्बर १२ को कालिका टोलस्थित शब्द चिन्तन संघ परिसरमा निर्माण गरिएका घरमा वडावासीको उल्लेखनीय सहभागितासहित बाजागाजा तथा भजन–कीर्तनका साथ गृहप्रवेश कार्यक्रम सम्पन्न गरिएको हो ।
वडा अध्यक्ष लेखराज पन्त (हरि) को अध्यक्षता तथा शब्द चिन्तन संघका संरक्षक लोकचन्द्र अधिकारी को विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य सञ्जयकुमार थापाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष पन्तले दुःखी तथा असहाय नागरिकप्रति देखाएको संवेदनशीलता र सामाजिक भावनाको प्रशंसा गर्नुभयो ।
भवन निर्माण संयोजक शंकर थापाले वडा कार्यालयको रु ३ लाख ७५ हजार बजेट तथा विभिन्न सहयोगीको आर्थिक सहयोगबाट दुई कोठे भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पन्तले विगत वर्षसम्म आफ्नो वडामा भाडामा बस्दै आएका बेसहारा तथा नागरिकताविहीन वृद्ध रामप्रसाद पौडेल दम्पतीलाई वडा र स्थानीयवासीको सहयोगमा नागरिकता उपलब्ध गराउन सफल भएको र अहिले स्थायी आवासको व्यवस्था गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । साथै शब्द चिन्तन संघ परिसरस्थित शिव मन्दिरमा पूजा–आराधनामा संलग्न कृष्णप्रसाद लोहनीको परिवारलाई पनि एक कोठा निर्माण गरी व्यवस्थापन गर्न सकिएको जानकारी दिनुभयो ।
उहाँले आवश्यकतामा रहेका परिवारको अवस्थाबारे जानकारी गराएपछि सहयोगी वडावासीहरूले पलङ, दराज, र्याक, सिरक–डसना, झुल, भाँडावर्तन, टावेल तथा खाद्यान्नलगायत सामग्री सहयोग गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गर्नुभयो ।
गृहप्रवेशका क्रममा आवास प्राप्त गरेका दुवै परिवार भावुक देखिएका थिए। खुशीका आँसु झार्दै उनीहरूले विगतमा दुःख भोगे पनि भगवानले साथ दिएको र सहयोगी मन भएका व्यक्तिहरू भगवानसरह बनेर सहयोग गर्न आएको भन्दै सबैप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले पनि वडाको यो सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए ।




