चितवन, ६ जेठ ।
महेश सन्यास आश्रम देवघाटधामका पीठाधीश १००८ स्वामी रमणानन्द गिरी महाराजले जारी कोटिहोम महायज्ञको दर्शन गर्दै आर्थिक सहयोग प्रदान गरेका छन् ।
सोमबार महायज्ञस्थल पुगेका स्वामी रमणानन्द गिरीले महायज्ञलाई नगद ५१ हजार १०० रुपैयाँ सहयोग गरेका हुन् । साथै, आयोजकबाट प्राप्त दक्षिणा रकम समेत महायज्ञलाई नै फिर्ता दान गर्दै उनले कुल ५२ हजार ६०० रुपैयाँ योगदान गरेका छन् ।
वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा गत वैशाख १७ गतेदेखि सञ्चालन भइरहेको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञमा स्वदेश तथा विदेशबाट समेत सहयोग जुट्ने क्रम जारी रहेको छ ।
काठमाडौँ घर भई हाल जर्मनीमा बस्दै आएका विशाल महर्जन (काश्यप)ले क्युआर तथा बैंकिङ माध्यममार्फत महायज्ञलाई २६ हजार ६३० रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, भरतपुर–२ आँपटारीस्थित आधुनिक दिदीबहिनी आमा समूहले ११ हजार ७५० रुपैयाँ तथा भरतपुर–८ गौरीगञ्ज निवासी शोभा ढकालले ११ हजार ११५ रुपैयाँ दान गरेका छन् ।
राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा सञ्चालन भइरहेको महायज्ञ आगामी असार १३ गतेसम्म जारी रहनेछ । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् । साथै, नियमित हवन, गायत्री मन्त्रद्वारा लक्ष हवन, अति रुद्री, सहस्र चण्डी, वेदपाठ तथा भागवत पाठ परायण भइरहेको आयोजकले जनाएको छ ।
वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम र सनातन सांस्कृतिक सम्पदा संरक्षण संघको संयुक्त आयोजनामा सञ्चालित महायज्ञमा नौ वर्षमुनिका १,००८ बालिकाको सामूहिक पूजा, पुरुषोत्तम महात्म्य प्रवचन, हिमवत् खण्ड, शिखरिणी यात्रा, गौकथा प्रवचन तथा पाँचसरे सवा करोड दीप प्रज्वलनलगायत धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।




