कपिल सर, तपाईंका गजलमा मतला र मकता कसरी चिन्ने ?

आरम्भमा केही बाहिरी कुरा

तपाईंले कपिल अज्ञातको नयाँ गजल कृति ‘मनको तराना’ पढ्नुभयो ? यदि पढ्नुभयो भने त्यसका बारेमा केही कुरा गरौँ है ? कृतिका बारेमा कुरा गर्दा सधैँ औपचारिक कुरा मात्र कति गर्नु है ? यो आलेख सुरु गर्नुअघि अनौपचारिक खालको एउटा संवाद राख्छु ल :
रमेशकुमार पौडेल : यी गजलका सेरहरु त कति लामा हुन् रमेशजी ?
रमेश प्रभात : मैले कुरा बुझिनँ नि रमेशजी ?
पौडेल : यतिबेला तपाईंको हातमा रहेको गजलसङ्ग्रह पल्टाउनुस् त ।
प्रभात : कुन किताब ? ‘मनको तराना’ ?
पौडेल : हो, यतिबेला त्योबाहेक तपाईंसँग अरु गजलको कुनै किताब छ र ?
प्रभात : रमेशजी, गजल मात्र होइन, मसँग यतिबेला अरु कुनै किताबै छैन ।
पौडेल : त्यसो भए त्यो किताब पल्टाएर हेर्नुस् त । त्यसमा कम्तीमा छ लाइन र बढीमा बीस लाइनका गजलहरु छन् । अझ भनौँ सेरहरु छन् । यस्तो पनि गजलका सेर हुन्छ त ?
प्रभात : (किताब पल्टाएर पृष्ठ सात र आठ हेरेपछि) ए हो त रहेछ । यसमा त हरेक सेरका बीचमा हुने स्पेस राखिएको रहेनछ ।
पौडेल : एउटा सेर सकिएपछि बीचमा स्पेस नराखेपछि हामी पाठकले त त्यो सिङ्गो संरचनालाई एउटै सेर भन्ने त होला नि ? हैन र ?
प्रभात : हे, हे, यो त गजल गुरु कपिल अज्ञातको किताब पो हो त !
माथिको संवाद २०८३ सालको पहिलो शनिबारको हो । वीरेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’को दार्शनिक ग्रन्थ ‘हिमाली दर्शन’माथि विमर्श चलिरहेको थियो । त्यही समयमा सबैभन्दा पछाडिको कुर्सीमा बसेका राजेन्द्र घायल र मेरा लागि कपिल गुरुले उहाँको पछिल्लो गजल कृति ‘मनको तराना’ एक एक प्रति उपहारस्वरुप उपलब्ध गराउनु भयो । घायलको छेउमा बसेका पत्रकार रमेशकुमार पौडेलले कति छिटो कृति सर्सर्ती पल्टाएर हेरेछन् । गजलका बारेमा सामान्य रुचि राख्ने उनले त्यसपछि खुसुरफुसरको शैलीमा माथिको संवाद गरेका थिए ।

त्यसपछि कपिल अज्ञातसँग चिनजानका कुरा

पाठकवृन्द, मलाई ठ्याक्कै याद छैन, कपिल अज्ञातसँग मेरो पहिलो भेट कहिले भयो ? तर पचासको दशकको आरम्भदेखि आजका मितिसम्म उनीसँग निरन्तर भेट हुने गरेको छ । उनी कहिले निर्णाकको भूमिकामा मञ्चमा उभिन्छन् भने कहिले समीक्षकको भूमिकामा । यस्ता कार्यक्रमकै सिलसिलामा भए पनि उनीसँग निरन्तर संवादमा छु म । उनको क्रियाशीलता मलाई मनपर्ने कुरा हो । त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य अवकाश लिएका भए पनि उनले लेखनबाट आजका मितिसम्म अवकाश लिएका छैनन् । यति भए सामान्य पाठकलाई के चाहियो ? हैन त ?

अनि त्यसपछि अज्ञातका लेखन यात्राका कुरा

पाठकवृन्द, यहाँलाई थाहा छ कि छैन, कपिल अज्ञात निरन्तर क्रियाशील व्यक्ति हुन् । उनी एकछिन पनि चुप लागेर बस्न सक्दैनन् । त्यसको प्रमाणका रुपमा उनका एकल र संयुक्त गरी हालसम्म प्रकाशित उन्तीसवटा कृतिलाई लिन सकिन्छ । उनी गद्य र पद्य दुबैमा उत्तिकै सशक्त रुपमा कलम चलाउँछन् । यसका साक्ष्यका रुपमा उनका विभिन्न विधामा प्रकाशित कृतिलाई लिन सकिन्छ ।
आजका मितिसम्म कपिल अज्ञातका पद्यअन्तर्गत चारवटा कवितासङ्ग्रह, दुईवटा मुक्तकसङ्ग्रह, दुईवटा गजलसङ्ग्रह र एउटा गीतिकवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । त्यस्तै गद्यअन्तर्गत निबन्ध, यात्रासंस्मरण र आलेख गरी आठवटा कृति प्रकाशित छन् भने समालोचना र समीक्षाका एकल र संयुक्तसमेत गरी दशवटा कृति प्रकाशित भइसकेका छन् । त्योभन्दाबाहेक उनका ज्योतिषसँग सम्बन्धित दुईवटा कृति र थुप्रै आलेखहरु प्रकाशित भएका छन् । लेखनबाहेक सम्पादनमा पनि उनको निकै हात रहेको पाइन्छ ।

नेपाली गजलमा कपिल अज्ञातको योगदानका कुरा

चितवन र नवलपरासीको पूर्वी क्षेत्रका अधिकांश युवा गजलकारलाई शिक्षित, दीक्षित र प्रशिक्षित गराउन कपिल अज्ञातले निकै मेहनत गरेका छन् । उनले दर्जनौ प्रशिक्षण शिविर चलाइसकेका छन् । त्यति मात्र होइन, ‘मनको तराना’भन्दा पहिला ‘समय समयका स्वरहरु’ नामक गजल कृति प्रकाशित गराइसकेका छन् । उनको लेखन र प्रशिक्षणले चितवन आसपासको गजलको विकासमा पुर्‍याएको योगदानलाई कम आँक्न मिल्दैन । चितवन पनि नेपालकै भूभाग भएका कारण उनको नेपाली गजलमा विशिष्ट योगदान छ भन्ने प्रस्ट हुन्छ । नेपाली गजलमा उनको योगदानका बारेमा छुट्टै आलेख बन्न सक्छ । त्यही भएर यो शीर्षकका बारेमा यतिभन्दा बढी नबोलौँ होला ।

त्यसपछि ‘मनको तराना’का सतही कुरा

कपिल अज्ञातको एकल रुपमा दोस्रो गजलकृति हो ‘मनको तराना’ । यसबाहेक थुप्रै सामयिक सङ्कलन, पत्रपत्रिकामा उनका गजलहरु छरिएर रहेका छन् । उनको पछिल्लो गजलकृति ‘मनको तराना’को प्रकाशक जनमत प्रकाशन, काभ्रे हो । यसमा एघारवटा खण्डहरु रहेका छन् भने यसभित्र रहेका ८९ पृष्ठमध्ये पृष्ठ ८ मा एउटा मात्र गजल छ भने बाँकी सबै पृष्ठमा दुई दुईवटा गजलहरु राखिएका छन् । यसरी हेर्दा यसमा १७७ वटा गजलहरु समेटिएका छन् । ती गजलमा विविध भावहरु पाइन्छ ।

जम्मा ९२+१२ पृष्ठको आयाममा फैलिएको यो कृतिको मूल्य भने जम्मा रु. १५१।– राखिएको पाइन्छ । यसभित्र गजलबाहेक सुरुमा प्रकाशकीय, भूमिका र लेखकीय गरी तीनवटा मन्तव्य र गजल सकिएपछि लेखकको व्यक्तिवृत्त पनि राखिएको छ । यी त भए कृतिका सतही कुरा ।

अनि त्यसपछि ‘मनको तराना’का गाँठी कुरा

चितवनका मात्रै नभएर नेपाली भाषाकै एक वरिष्ठ गजलकार भन्न मिल्ने कपिल अज्ञातले ‘मनको तराना’ गजलकृतिभित्र विषयसूची राखेका छैनन् । खासमा त्यो आवश्य पनि छैन । उनले उक्त कृतिभित्रका गजललाई कतै पृष्ठको माथि त कतै बीचमै पनि विभिन्न खण्ड छुट्याएर नामकरण गरेका छन् । त्योचाहिँ कति आवश्यक छ ? यसको जवाफ मसँग छैन ।

उनले खण्डजस्तो लाग्ने गरी राखेका त्यस्ता नामहरु हुन् : जीवनविषक, अध्यात्मविषयक, छन्द, पुत्रविषयक, नातिविषयक, विसङ्गतिविषयक, विविधविषयक, बुढ्यौली, समीक्षा, बालगजल, गीतात्मक गजल र चुनावी गजल । यी खण्डमध्ये पनि विविधविषयभित्र उपविषयसमेत समाविष्ट छ । यो खण्डयोजनाको आधार के हो ? खासमा माथि गरिएको खण्डविभाजन विषयकेन्द्री हो कि ? संरचनाकेन्द्री हो कि ? केवल लहड मात्र हो ? मैले त केही मेसो पाइनँ । यसलाई अब कपिल गुरुले नै बुझाउने हो कि ? अथवा भूमिका लेखक चिरञ्जीवी दाहाल वा प्रकाशक मोहन दुवालले प्रस्ट पारिदिने हो ?

विभिन्न खण्डमा विभक्त यी गजलहरुमध्ये बुढ्यौली खण्डका गजलहरु तुलनात्मक रुपमा केही कामलाग्दा छन् । हेरौ एउटा सेर :
“रोग लागी छिटो त्यसै जानुभन्दा
उपचारकै निम्ति घाउ तोक्नुपर्छ ।” (पृष्ठ, ५२)

पाठकवृन्द, माथिको सेर कपिल गुरुको जीवन अनुभव हो । यसमा केही दम छ । यो आलेखलाई अनावश्यक लामो बनाउन चाहन्नँ म । अब ‘मनको तराना’ गजलसङ्ग्रहको सबैभन्दा सुरुको गजल यहाँ साभार गर्छु ल :
“जिन्दगीलाई हराए के जिन्दगी
जिन्दगीलाई जिताए पो जिन्दगी
जिन्दगीको अर्थ बुझ्नु जिन्दगीमै
जिन्दगीलाई सजाए पो जिन्दगी
के काम सधैँ शून्यता नै पुजी
जिन्दगीलाई सिँगारे पो जिन्दगी
जिन्दगीलाई पछि के हुन्छ थाहा ?
जिन्दगीकै अर्थ बताए पो जिन्दगी
जिन्दगीमै गर्नुपर्ने विधान छ धेरै
जिन्दगीमै गरिसिध्याए पो जिन्दगी ।” (पृष्ठ, १)

यो गजल पढेपछि यहाँको मनमा कस्तो विचार आयो ? जम्मा दस सेर र चौवालीस पदमा संरचित गजलमा सोह्रवटा अर्थात् एक तिहाइभन्दा बढी एउटै शब्दको आवृत्ति गर्नुले यो गजल सबल बनेको छ कि कमजोर ? यसका बारेमा यहाँको अभिमत राख्दै गर्नु है ? बाँकी गजल कस्ता छन् ? यसका बारेमा चाहिँ यहाँले आफैँ अध्ययन गर्नु ल ।

अन्त्यमा, गजल गुरु कपिल अज्ञातलाई एक बबुरोको सुझाउ

कपिल सर, मलाई भलिभाँती थाहा छ, तपाईं सारा चितवन, पश्चिमी मकवानपुर, दक्षिणी तनहुँ र पूर्वी नवलपरासी क्षेत्रका धेरै साहित्यकार तथा साहित्यानुरागीका गुरु हुनुहुन्छ । मैले चालीसको दशकको अन्त्यतिर गजल लेख्न सुरु गर्दा गजल के हो ? भनेर बुझाउन सक्ने क्षमता तपाईं र गोविन्दराज विनोदी गुरुबाहेक कसैमा थिएन ।

त्यतिबेला गजल के हो ? गजलको सेर के हो ? मतला, मकता, तखल्लुस के हो ? अन्य विधाबाट गजललाई प्रस्ट छुट्याउने आधार के हो ? यस्ता प्रश्नलाई यहाँले कति सजिलै बुझाइदिनुहन्थ्यो । यतिबेला तपाईंको त्यो गुरुज्ञान कहाँ गयो ? मुक्तकजस्तो सर्सर्ती प्रस्तुत गरेपछि गजल कहाँ गजल रहन्छ सर ? म यहाँ तपाईंको मनको तरानाको एउटा गजल साभार गर्छु है :
बुझिन्न धेरै थोक नपढेसम्म
पाइन्न कहीँ क्यै नलडेसम्म
भाग्य भए पनि खुल्दैन त्यसै
श्रमको शिखर यहाँ नचढेसम्म
सीप भए पनि परिन्छ पछि
बाटोमा अघिअघि नबढेसम्म
फलिफाप हुन्न व्यापारिक सेवा
पाइपाइको हिसाब नधडेसम्म ।” (पृष्ठ, ८५)

अन्तमा कपिल अज्ञातसँग मेरा केही प्रश्न छन् । कपिल सर, माथि साभार गरिएको गजलमा कतिवटा सेर छन् ? यसमा मतला र मकता कसरी चिन्ने ? यसमा काफिया के हो ? यो बहरमा छ कि रहरमा ? यसका बारेमा यहाँले बताउनुपर्छ कि पर्दैन ? यहाँको किताब हेरेर कुनै नवयुवा गजलमा लाग्न चाह्यो भने के हविगत होला ? के गजल छाप्दा मुक्तकजस्तो गरेर छपाए पनि हुने हो ? यसका बारेमा मलाई मात्र होइन गजल सिक्न चाहनेलाई आफ्नै कृतिलाई साक्षी राखेर केही बताइदिनुहुन्छ कि ? यदि पैसा बचाउनका लागि त्यसो गरिएको हो भने यहाँले गम्भीर अपराध गर्दै हुनुहुन्छ । त्यसको भरपाई आगामी समयले गराउने छ ।

यो आलेख सक्नुअघि म आफू पनि गजलमा विगत चार दशकदेखि लागि परेको आधारमा भन्छु, कपिल गुरु, गजलको संरचना यसरी भत्काउन पाइँदैन । हो, गजल बिगारेर कुरुप बनाउन पाइँदैन । गजल सिद्धान्तका बारेमा प्रवचन दिँदै हिँड्ने यहाँलाई त्यो छुट कसले दियो ? मैले जानेको र बुझेको कुरा यत्ति हो । आगे यहाँको मर्जी ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट