आजदेखि सुरु हुँदै विश्वकप २०२६, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

भरतपुर, २८ जेठ ।
विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । मेक्सिको सिटीस्थित ऐतिहासिक रंगशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ ।

यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोली सहभागी छन् भने कुल १०४ खेल क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ शहरमा खेलाइनेछन् । प्रतियोगिता जुलाई १९ सम्म सञ्चालन हुनेछ ।

घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यमा छ । रोचक पक्ष के छ भने, सन् २०१० को विश्वकप उद्घाटन खेलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । त्यतिबेला दक्षिण अफ्रिकाले अग्रता लिए पनि मेक्सिकोले बराबरी गोल फर्काउँदै खेल १–१ मा सकिएको थियो ।

यसपटक तत्कालीन कप्तान राफायल मार्केज खेलाडीका रूपमा नभई मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगुइरेका सहायक प्रशिक्षकका रूपमा टोलीसँग छन् । प्रशिक्षक अगुइरेले घरेलु मैदानमा विश्वकप खेल्नु आफ्ना खेलाडीका लागि विशेष प्रेरणाको विषय भएको बताएका छन् ।

यता अफ्रिकी छनोटको समूह ‘सी’ विजेता बनेर विश्वकपमा पुगेको दक्षिण अफ्रिकाका प्रशिक्षक हुगो ब्रुसले मेक्सिको बलियो टोली भए पनि आफ्ना खेलाडीले अन्तिम मिनेटसम्म संघर्ष गर्ने बताएका छन् । मिडफिल्डर टेबोहो मोक्वेनाले विश्वकपमा खेल्नु हरेक खेलाडीको सपना भएको उल्लेख गर्दै उत्कृष्ट प्रदर्शनमार्फत समर्थकलाई खुसी बनाउन चाहेको प्रतिक्रिया दिएका छन् ।

मेक्सिकोका सम्भावित खेलाडीमा रान्गेल, गालार्डो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, किनोनेस, अल्भाराडो र जिमेनेज रहेका छन् । दक्षिण अफ्रिकाबाट विलियम्स, मुदाउ, ओकोन, म्बोकाजी, मोडिबा, मोक्वेना, सिथोले, माथोहो, मोरेना, फोस्टर र अपोलिस मैदानमा उत्रिने सम्भावना छ ।

भरिभराउ रंगशाला, विश्वभरका करोडौं दर्शक र नयाँ इतिहास लेखिने अपेक्षाबीच मेक्सिको सिटीमा आजबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक सुरुआत हुँदैछ । घरेलु टोली मेक्सिको विजयी सुरुआतको खोजीमा हुनेछ भने दक्षिण अफ्रिका उद्घाटन खेलमै उल्टो नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट