चितवन, २७ जेठ ।
लायन्स क्लब अफ रत्ननगर लेडीजले रत्ननगर–१० स्थित श्री बैरिया माध्यमिक विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन तथा स्यानिटरी प्याड डिस्पोजल इन्सिनिरेटर मेसिन हस्तान्तरण गरेको छ ।
नेपाल लायन्स फाउन्डेसन तथा क्लबकी अध्यक्ष सन्जु खनाल रिजालको सहयोगमा विद्यालय परिवारलाई उक्त मेसिन हस्तान्तरण गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । क्लबकी अध्यक्ष रिजालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आरका गभर्नर पीएमजेएफ लायन नवराज सापकोटा प्रमुख अतिथि तथा पीएमजेएफ लायन दीपेन्द्र खतिवडा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, लायन्स डिस्ट्रिक्ट ३२५ आरका पदाधिकारी तथा क्लबका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
विद्यालयमा जडान गरिएको स्यानिटरी प्याड भेन्डिङ मेसिन र प्रयोग भइसकेका प्याड सुरक्षित रूपमा व्यवस्थापन गर्न इन्सिनिरेटर मेसिनले छात्राहरूलाई विद्यालयभित्रै सहज, सुरक्षित र मर्यादित रूपमा स्वास्थ्यसम्बन्धी सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ ।
क्लबकी अध्यक्ष सन्जु खनाल रिजालले महिनावारीका समयमा छात्राहरूले असहज महसुस नगरी आवश्यक स्यानिटरी प्याड सहज रूपमा प्रयोग गर्न सक्ने बताउँदै यसबाट महिनावारीसँग सम्बन्धित विभिन्न झन्झट र संकोच कम हुने, विद्यालय छुटाउनुपर्ने अवस्था नआउने तथा मानसिक तनावसमेत घट्ने विश्वास व्यक्त गर्नुभयो ।





