चितवनको भरतपुरमा शनिबार ‘ऐतिहासिक रक्तदान महोत्सव’ हुँदै

चितवन, २८ जेठ ।
विश्व रक्तदाता दिवसको अवसर पारेर जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना गरिने भएको छ । भरतपुर महानगरपालिका–१०, दूरसञ्चार रोडस्थित चितवन उद्योग संघको परिसरमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म महोत्सव सञ्चालन हुने आयोजक ब्लड डोनर्स सोसाइटी नेपालले जनाएको छ ।

रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने, नयाँ रक्तदाता उत्पादन गर्ने तथा समाजमा मानवीय सेवाको भावना विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । रक्तदाताको सहभागिता बढाउन विभिन्न आकर्षक उपहार सामग्रीको व्यवस्था गरिएको छ भने गोलाप्रथामार्फत विशेष उपहार प्रदान गर्ने कार्यक्रमसमेत तय गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको प्रवर्द्धक भरतपुर महानगरपालिका रहेको छ भने चितवन उद्योग संघ र नेपाल कल्याण समाज जापान सहयोगी संस्थाका रूपमा रहेका छन् । अस्पतालहरूको सहरका रूपमा परिचित भरतपुरमा रगतको माग उच्च रहने र विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले आयोजकले सबैलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अञ्जन दवाडीले संस्थाले विगत पाँच वर्षदेखि रक्तदान तथा रक्त व्यवस्थापनको क्षेत्रमा निरन्तर काम गर्दै आएको बताए । उनका अनुसार विश्व रक्तदाता दिवसको अवसरमा गत वर्ष आयोजना गरिएको पहिलो रक्तदान महोत्सवमा एक हजार ७ सय १७ पिन्ट रगत संकलन भएको थियो, जुन नेपालमै एकै दिनमा संकलन भएको उच्च परिमाणमध्ये एक मानिन्छ ।

दवाडीले गत वर्षको सफलतापछि रगतको अभाव न्यूनीकरण गर्नुका साथै रक्तदानप्रति जनचेतना र उत्प्रेरणा जगाउने उद्देश्यले यस वर्ष दोस्रो ऐतिहासिक रक्तदान महोत्सव आयोजना गर्न लागिएको बताए । उनले मानवताको महान् अभियानमा सहभागी भई रक्तदान गर्न तथा कार्यक्रम सफल बनाउन सबैमा अनुरोध गरेका छन् ।

महोत्सव सफल बनाउन प्रशासन, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियानलाई अत्यन्त सकारात्मक र मानवीय कार्यको संज्ञा दिँदै यसको सफलताका लागि आवश्यक सहयोग रहने बताए । उनले लक्ष्यभन्दा पनि कार्यक्रमको प्रभावकारी व्यवस्थापन र व्यापक प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा जोड दिए । स्वास्थ्य अवस्थाका कारण आफू रक्तदान गर्न नसक्ने भए पनि आधा महिनाको तलब सहयोगस्वरूप प्रदान गर्ने घोषणा उनले गरेका छन् ।
यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले आफ्ना मातहतका सुरक्षाकर्मीलाई रक्तदानका लागि प्रेरित गर्ने बताए । उनले “आफ्नो शरीरमा बगेको रगतले कसैको जीवन बचाउन सक्छ भने रक्तदान किन नगर्ने ?” भन्दै अभियानमा सहभागी हुन सबैलाई आग्रह गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट