छोरा हृदयेन्द्र र छोरी कृतिकासहित पूर्वयुवराज पारसद्वारा कोटिहोम महायज्ञको दर्शन

भरतपुर, २९ जेठ ।
देवघाट क्षेत्रको आँपटारीस्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञको पूर्व राजपरिवारका सदस्यहरूले दर्शन गरेका छन् । पूर्वयुवराज पारस शाहले छोरा हृदयेन्द्र शाह र छोरी कृतिकासहित वागीश्वरी पुगेर महायज्ञको दर्शन गरेका हुन् ।

उनीहरूले महायज्ञको दर्शन गर्नुका साथै वागीश्वरी मन्दिरमा पूजाअर्चना गरेका थिए । मन्दिर परिसरमा राखिएको पूर्वराजा वीरेन्द्र शाहको परिवारको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलीसमेत अर्पण गरेका थिए । यसअघि पूर्वयुवराज पारस शाह एक्लै पनि महायज्ञस्थल पुगेका थिए ।

राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पमा सञ्चालन भइरहेको महायज्ञमा बीजमन्त्रद्वारा सवा करोड पटक कोटि हवन गरिने कार्यक्रम रहेको छ । राष्ट्र तथा विश्व शान्तिको कामनासहित ५९ दिन लामो महायज्ञ आयोजना गरिएको हो । महायज्ञस्थलमा विभिन्न क्षेत्रका विशिष्ट तथा उच्चपदस्थ व्यक्तिहरूको आगमनसमेत जारी छ ।

गत वैशाख १७ गतेदेखि सुरु भएको महायज्ञ आगामी असार १३ गते सम्पन्न हुने कार्यक्रम छ । महायज्ञअन्तर्गत सञ्चालन गरिएको भजन प्रतियोगिताको समापन जेठ ३० गते हुने भएको छ । हाल महायज्ञमा बीजमन्त्रद्वारा नियमित हवनसँगै अतिरुद्री महायज्ञ र सहस्र चण्डी अनुष्ठानसमेत भइरहेको छ ।

महायज्ञ संयोजक तथा मुख्यकर्ता प्रेमनिधि भारद्वाजका अनुसार आगामी असार ६ गते नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामूहिक पूजन गरिनेछ भने असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट