मकवानपुर, २८ जेठ ।
मकवानपुरको हेटौंडामा कथाकार गोविन्द गिरी प्रेरणाका लामा कथाहरूको दोस्रो सङ्ग्रह ‘अ-विधवा’ माथि परिचर्चा तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कथा सङ्ग्रहमाथि समीक्षात्मक छलफल गरिएको हो ।
कार्यक्रममा आरपी गुरागाईं र सुबास सजलले ‘अ-विधवा’ कथा सङ्ग्रहमाथि आफ्ना धारणा राख्दै कथाहरूमा यौन मनोविज्ञान, नेपाली परिवेश र अमेरिकी पृष्ठभूमिको प्रभाव सशक्त रूपमा आएको बताए । उनीहरूले लामो कथा पठनको अनुभवसमेत प्रस्तुत गरेका थिए ।
कवि तथा समीक्षक निमेष निखिलले कथाकार गोविन्द गिरी प्रेरणासँग संवाद गर्दै लामो कथा र उपन्यासबीचको भिन्नता तथा कथाहरूमा बारम्बार देखिने यौन मनोविज्ञानका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा कथाकार प्रेरणाले यौन मनोविज्ञान कथामा बाह्य आवरणका रूपमा आउने भए पनि त्यसको अन्तर्यमा पुगेर बुझ्नुपर्ने धारणा व्यक्त गरे ।
सोही अवसरमा साहित्यकार उदय अधिकारीले गोविन्द गिरी प्रेरणासँग लिएको अन्तर्वार्तामा आधारित पुस्तक ‘प्रेरणा वार्ता’ को विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आर.सी. रिजाल, साहित्य संगम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला तथा अन्य अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए ।
विमोचनपछि अन्तर्वार्ताकार उदय अधिकारीले साहित्यकार प्रेरणाको बहुआयामिक लेखन र निरन्तर सक्रियताबाट प्रभावित भएर ‘प्रेरणा वार्ता’ तयार पारेको बताए । प्रमुख अतिथि आर.सी. रिजालले गोविन्द गिरी प्रेरणा हेटौंडाको प्रतिभाशाली स्रष्टा भएको उल्लेख गर्दै उहाँप्रति गर्व लागेको बताए ।
कार्यक्रममा साहित्यकार प्रेरणालाई सम्मानपत्र तथा संस्थाको आजीवन सदस्यताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । साहित्य संगम मकवानपुरका अध्यक्ष डी.बी. बर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रारम्भमा उपाध्यक्ष मनोज पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहसचिव भवानी तिमिल्सिनाले सञ्चालन गरेकी थिइन् ।





