नवलपरासी, २७ जेठ ।
मङ्गलबार परेको अविरल वर्षा र हावाहुरीका कारण विनयी त्रिवेणी गाउँपालिका–१ बगुवन क्षेत्रमा व्यापक क्षति भएको छ ।
स्थानीय बुद्धराज विश्वकर्माका अनुसार तीव्र हावाहुरीले करिब १५ वटा घरका जस्तापाता उडाएको छ । घरको छाना उड्दा घरभित्र राखिएको अन्नबाली वर्षाले भिजेर नष्ट भएको छ, जसका कारण प्रभावित परिवारहरू थप समस्यामा परेका छन् ।
हावाहुरीका कारण लक्ष्मी आधारभूत विद्यालयमा जडान गरिएको खानेपानी फिल्टरको ट्यांकी समेत ढलेर क्षति पुगेको छ । यसबाट विद्यालयको खानेपानी व्यवस्थापन प्रभावित भएको जनाइएको छ ।
घरबाट उडेको टायल लागेर करिब ६ वर्षीय एक बालक घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको स्थानीयले बताएका छन् ।
प्राकृतिक विपद्को असर कृषिक्षेत्रमा पनि परेको छ । खेतमा काटेर राखिएको चैते धान वर्षा र हावाहुरीका कारण नष्ट भएको स्थानीय बुद्धराज विश्वकर्माले जानकारी दिनुभयो । धान भित्र्याउने तयारीमा रहेका किसानहरूको ठूलो परिमाणमा उत्पादन क्षति हुँदा आर्थिक नोक्सानी समेत भएको छ ।





