भरतपुर, ६ वैशाख ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, चितवनको आयोजनामा शनिबार भरतपुरस्थित वीरेन्द्र क्याम्पसमा दुई महत्वपूर्ण कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क. मोहन वैद्यद्वारा लिखित ‘हिमाली दर्शन’ र ईश्वरी ओझाद्वारा रचित महाकाव्य ‘अविश्रान्त अवनी’माथि समीक्षात्मक विमर्श गरिएको थियो ।
‘हिमाली दर्शन’ कृतिमाथि दर्शनशास्त्रका ज्ञाता तथा मार्क्सवादी चिन्तक गोपीरमण उपाध्यायले चर्चा गरेका थिए । उक्त कृतिमा हिमाली जीवन, प्रकृति र मानव अस्तित्वलाई दार्शनिक दृष्टिकोणबाट विश्लेषण गरिएको पाइन्छ । समाज, वर्ग र चेतनासम्बन्धी विषयलाई वैचारिक गहिराइका साथ प्रस्तुत गरिएको कृतिले पाठकलाई चिन्तनशील बनाउने विशेषता बोकेको छ ।
त्यसैगरी, ‘अविश्रान्त अवनी’ महाकाव्यमाथि संस्थाका जिल्ला अध्यक्ष रविकिरण निर्जीवले टिप्पणी गरेका थिए । यो महाकाव्यले निरन्तर संघर्षशील मानव जीवन, परिवर्तनको चाहना र सामाजिक यथार्थलाई काव्यात्मक ढंगले प्रस्तुत गरेको छ । कृतिमा मानवीय संवेदना, समयचेतना र प्रगतिशील विचारको समिश्रण पाइन्छ ।
कार्यक्रममा हीरामणि दुःखी प्रमुख अतिथि रहेका थिए भने अध्यक्षता बाबुराम पाण्डेले गरेका थिए । कार्यक्रमको सञ्चालन नारायण शर्मा विपिनले गरेका थिए । कार्यक्रममा साहित्यप्रेमी तथा बुद्धिजीवीहरूको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ ।





