स्कुले जीवन र साइकल प्रेम (संस्मरण)

२०४१ सालमा राष्ट्रिय प्राथमिक विद्यालय कैलाशनगरबाट कक्षा ६ पढ्न प्रेमबस्ती माध्यमिक विद्यालय जाने लहरमा मिसिएँ म पनि । त्यस लहरले ठुल्दाइ अर्जुन , माहिँला दाइ राम र दिदीलाई कैलाशनगर स्कुलबाट तानिसकेको थियो । म पनि त्यही लहरमा समाहित भएँ , नाम चलेको स्कुल प्रेमबस्ती ।

प्रेमबस्ती स्कुल पुग्न करिब ५० मिनेट लाग्थ्यो । घरदेखि स्कुलको दूरी ३ किमी जति । चार बजेपछि घर फर्कँदा पश्चिमका सूर्यनारायणले शरीर निकै तताउँथे । तथापि दिउँसोको पढाइ त ठिकठिकै चल्थ्यो । दश बजे खाएको खानाले चार बजेसम्म काम गर्थ्यो । जब वैशाख दुई हुन्थ्यो अनि बिहानीको अत्यासलाग्दो पढाइ सुरु हुन्थ्यो । दिग्दारै लाग्ने । प्राय : बिहानै आमाले रोटी र तरकारी र कहिलेकाहीँ रोटी र चिया बनाइदिनुहुन्थ्यो । त्यसैले छ घण्टा काम गर्नुपर्थ्यो । भोक लागिरह्यो भने पानीले पेटको चित्त बुझाउँथ्यो । एकातिर ११.३० बजेको घाममा फर्कँदा घामले पोल्थ्यो भने पेटमा भोकले पोल्ने ।

हामीसँग छाता र झोला थिएन । दाहिने हात र कुमको सहायताले करिब १.५ किलो बराबरका किताब र कापी बोक्नुपर्थ्यो । सानो लुरे शरीर ! राजकृष्ण सरलगायत अन्य सरहरू देख्दा मन नै थरर हुने । त्यतिखेरको स्कुले जीवन नै कष्टप्रद , कडा अनुशान ! घोकन्ते पढाइ ! घन घोटेर बञ्चरो बनाउनु पर्ने । कति कुराहरू नबुझिकनै बुझियो अर्थात् कक्षा चढियो भनौँ ।

त्यतिखेर साइकल र रेडियो पनि एकादेशका कथा थिए । २०४६ सालमा कक्षा १० मा पढ्दा चाइनिज साइकल निकै सस्तो बनेर आयो । गाउँका छिमेकी दाइले किनेको चाइनिज साइकल हामीले २२०० रुपियाँमा किन्यौँ ।

त्यसपछि दिदीसँग ठाँटिएर चाइनिज साइकल चढेर प्रेमबस्ती स्कुल पुगेका ती दिन अझै स्मरणमा आइरहेका छन् । त्यतिखेर साइकल हाम्रो लागि निर्विकल्प साधन थियो , खुसीको साधन थियो । अहिले साइकलका रूप फेरिए । सामान्य खालका चाइनिज र इन्डियन साइकल अब एकादेशका कथा भए । पहिलेको साइकल चाहना क्रमश : बाध्यता बन्यो , अहिलेको साइकलको चाहना सौखको विषय । पहिले पनि साइकल रूचिकै विषय अहिले पनि !

साइकल चलाऔँ , इन्धन बचाऔँ !

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट