भरतपुर, ११ चैत ।
नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म विस्तार गरिएको चार लेन सडकमा बढ्दो सवारी चापलाई व्यवस्थित बनाउन ट्राफिक सचेतना अभियान तीव्र बनाइएको छ । भरतपुर महानगरपालिका र ट्राफिक प्रहरीले संयुक्त रूपमा पुल्चोक–गोन्द्राङ सडक खण्डमा विभिन्न स्थानमा साइनबोर्ड राख्दै सवारी चालक र पैदल यात्रुलाई नियम पालना गर्न आग्रह गरेका छन् ।
हाल तीव्र गतिमा सञ्चालनमा रहेको उक्त सडक खण्डमा गति नियन्त्रण, ट्राफिक संकेतको पालना, पैदल यात्रुलाई प्राथमिकता दिने, सवारी चलाउँदा मोबाइल प्रयोग नगर्ने, मादक पदार्थ सेवन नगर्ने तथा हेल्मेट र सिटबेल्ट अनिवार्य प्रयोग गर्न विशेष अनुरोध गरिएको छ ।
नारायणगढ बजार क्षेत्रलाई पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको यो चार लेन सडक पछिल्लो समय अत्यधिक व्यस्त बन्न पुगेको छ । सडक स्तरोन्नतिपछि सवारीको गति बढेसँगै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले सचेतना र कडाइ आवश्यक भएको ट्राफिक प्रहरीको भनाइ छ ।
यसैबीच, उक्त सडक खण्डका करिब ६ स्थानमा जडान गरिएका ट्राफिक बत्तीहरू छिट्टै सञ्चालनमा ल्याइने तयारी रहेको छ । बत्ती सञ्चालनमा आएपछि चोक–चौराहामा सवारी व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
पुल्चोकदेखि गोन्द्राङसम्मको चार लेन सडक विस्तारले भरतपुरको शहरी यातायात सहज बनाएको छ भने दैनिक आवतजावत गर्ने हजारौं यात्रुलाई प्रत्यक्ष लाभ पुगेको छ । तर, सुरक्षित यात्रा सुनिश्चित गर्न सबै पक्षले ट्राफिक नियमको कडाइका साथ पालना गर्नु आवश्यक देखिएको छ ।





