रत्ननगर, ११ चैत ।
पर्यटकीय नगरी सौराहास्थित सपना स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयले आफ्ना शैक्षिक उपलब्धि सार्वजनिक गर्दै अभिभावकलाई व्यवहारिक तथा प्रयोगात्मक शिक्षण विधिबारे जानकारी गराएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष वर्षा पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले गरेका थिए । २०७३ सालमा स्थापना भएको विद्यालयमा साढे २ देखि ५ वर्ष उमेर समूहका बालबालिका अध्ययनरत छन् ।
प्राचार्य रोशनी तामाङका अनुसार विद्यालयले खेल्दै सिक्दै व्यवहारिक, प्रयोगात्मक र बालकेन्द्रित शिक्षण विधि अपनाउँदै आएको छ । कार्यक्रममा प्रमुख अतिथि वाग्लेले यस्तो शिक्षण प्रणाली अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व शिक्षक सङ्गीता आचार्यलाई सम्मान गरिएको थियो भने बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।





