पन्तको `धर्तीमुनिका तारा´माथि साहित्यिक विमर्श

भरतपुर, ९ चैत ।
लेखक महेश्वर पन्तको कथासङ्ग्रह `धर्तीमुनिका तारा´ को अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा आइतबार नारायणगढमा गरिएको कार्यक्रममा उदय अधिकारी, गणेश श्रमण, सुरेन्द्र अस्तफल र भूपिनले पाठकीय टिप्पणी राख्नुभएको थियो ।

अक्षर समूहका संस्थापक भूपिनका अनुसार यो कृति डायस्पोरिक साहित्यको अब्बल सिर्जना हो । `नेपाली समाजसँगै अमेरिकामा रहेका प्रवासी नेपालीहरूको जीवनमा लुकेका पाटाहरू कथामा समेटिएका छन्´ भूपिनले भन्नुभयो ।

टिप्पणीकार उदय अधिकारीले लेखक पन्तले अमेरिकाको लामो अनुभवलाई कथामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो । कृतिमा प्रवासी नेपालीहरूको संघर्ष, सांस्कृतिक द्वन्द्व र अमेरिकी जीवनको भित्री यथार्थलाई जीवन्त ढंगले चित्रण गरिएको धारणा अधिकारीले राख्नुभयो ।

टिप्पणीकार सुरेन्द्र अस्तफलले ‘धर्तीमुनिका तारा’ का कथामा बाह्य चमकभन्दा भित्री पीडा र संघर्ष बोकेका पात्रहरूलाई प्रस्तुत गरिएको बताउनुभयो । कृतिले प्रवासमा रहेका नेपालीहरूको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउने अस्तफलले विश्वास व्यक्त गर्नुभयो ।

अमेरिकी नेपाली समाजकलाई सहज र सरल भाषामा आख्यानीकरण गरी सजीव चित्रण गरिएका कथाहरू सङ्ग्रहमा भएको गणेश श्रमणले बताउनुभयो ।

कृतिलाई कालीभक्त – कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । सङ्ग्रहमा ११ वटा कथा छन् । मूल्य ६५०/- रुपैयाँ छ । पन्तका यसअघि `मुन्द्री´ र `नबोल्नेहरू´ कथासङ्ग्रह साथै `फुर्लुङ´ र `बौलाको डायरी´ उपन्यास प्रकाशित छन् । नेपाली गीतसङ्गीतका क्षेत्रमासमेत सक्रिय पन्तका विभिन्न एल्बम एवम् म्युजिक भिडियो सार्वजनिक छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट