दुबईको रङ्गीन रातमा हराएको मुस्कान

दुबई नयाँ वर्षको उमङ्गमा रमाइरहेको थियो । नयाँ वर्षको उमङ्गले जुमेराह बीचलाई रंगीन बनाएको थियो । स्वर्णिम बालुवामा फैलिएको मानव समुद्र, हजारौँ पर्यटकहरूको हातमा चम्केका प्यालाहरू, आकाशतर्फ उड्ने आतसबाजीको प्रतीक्षामा उभिएका मुस्कानहरू । म, विक्रम र चिरञ्जीवी बीचको एउटा होटलको साइड बेञ्चमा बसेका थियौँ । ठ्याक्कै घडी त हेरिएन, तर रातको साढे एघार बजेको हुनुपर्छ । समुद्रका लहरहरूले तालमेलमा ताली बजाइरहेका थिए । मानौँ, प्रकृति पनि उत्सवमा सामेल भइरहेको छ ।

आँखा न हो, एकत्रित भएर त कहाँ बस्थ्यो र ! कहिले हुलतिर आँखा जान्थ्यो, कहिले पर्यटकहरूले पिएको मदिरातिर । कहिले सिँगारिएका मोरक्कन षोडसीहरूतिर त कहिले बाटोमै बसेर ड्रमसेट बजाइरहेका युरोपियनहरूतिर ।

हेर्दाहेर्दै अर्को होटलको साइडमा, बालुवाको किनार नजिक बसेको एउटा न्याउरो अनुहारले मलाई तान्यो । लामो कोट लगाएको एउटा पुरुष, पुषको चिसोमा काँप्दै, आँखामा अनजान पीडा लुकाएर बसेझैँ देखियो ।
“अब उठौँ र किनारमा जाऔँ, आतसबाजी पड्किने समय हुन लाग्यो,” विक्रम बोले ।
“केही हराएर एक्लिएको जस्तो मान्छे छ। सोधौँ न!” मैले भनेँ।
“चिन्नु न जान्नुका दुःख सुनेर के साध्य! चल बाजे!” चिरञ्जीवीको पनि बोली फुट्यो ।

साथीहरूले मलाई जान आग्रह गरिरहेका थिए, तर मलाई हृदयको तारले उसतर्फ जोड्यो । उसका आँखाले अमिलो आँसु लुकाएर मलाई बोलाएको भान भयो । म नजिकै गएँ ।
“आज यहाँको धमकामा रमाउनुपर्छ के बाजे ! पहिलो पटक तिमी फुजेराबाट १७० किलोमिटर ड्राइभ गरेर यही हेर्न आएका छौँ। तिमी खुरुक्क हिँड अहिले । बाँकी पछि कुरा गरौँला,” फेरि विक्रमले कर गरे ।

तर म रोकिएँ । केही सोध्न खोज्दै थिएँ। उसका आँखाले भाषाको बन्धन तोडेर, सीमाको पर्खाल नाघेर केही बोलिरहेका थिए । बोल्न नसकेको भाषा, तर भावनाको ज्वालामुखी ।
विक्रमले मेरो हात समातेर तान्दै बोले, “पछि भेटौँला । आतसबाजी सुरु हुन्छ !” हामी भीडमा मिसियौँ, जसरी खोलानाला समुद्रमा मिसिन्छन् ।

एकछिनमै आतसबाजीका उल्काहरू फुटे । आकाश फूलको रंगीचंगी बगैँचामा परिणत भयो, तर मन अँध्यारो । आकाश यति उज्यालो देखियो कि मानौँ देवताहरूको आश्रममा आगलागी भइरहेको छ, तर हृदयमा छाएको कालो बादलले सूर्य छेकेर धुम्मिएको दिनजस्तो बनाएको छ । रमाउन गएको हो कि मुस्कान लुटाउन? केही सोच्नै सकिरहेको थिइनँ ।

रातको एक बजे फर्कँदा पनि ऊ त्यहीँ थियो । हृदयको तारले जोडिसकेको थियो, के चुँडिन्थ्यो र ? छेउमा बसेको देखेपछि नबोली हिँड्न मनले मानेन । साथीहरू अगाडि थिए, म पछि भइसकेको थिएँ ।

“के भयो भाइ ?” मैले सोधेँ, तर उसले कुरा बुझेन । अलिअलि इसाराले बोल्न थाल्यो । अलि धेरै आँसुले बोल्यो । दुई घण्टा लाग्यो बुझ्न । ऊ रुस–युक्रेन युद्धबाट भागेको शरणार्थी रहेछ ।
“ज्यान जोगाएर पनि ज्यानकै बाजी थापेको हुँ । जाडोले काँपेको होइन, मनमा बम–बारुदको त्रासदीले काँपेको हो । सास त ल्याएँ, तर शरीर लासजस्तै छ ।” उसको अन्तस्करण बोल्यो । डुङ्गामा इजिप्ट, साउदी अरेबिया हुँदै दुबईसम्म आइपुगेको रहेछ ।
उसको नाम अलेक्जेन्डर रहेछ। परिवार कहाँ छन् उसलाई थाहा छैन, ऊ कहाँ छ परिवारलाई थाहा छैन । मागेर भए पनि फोन गर्न मन लाग्थ्यो, तर देशमा नेटवर्क छैन । अङ्ग्रेजी, अरबी उसलाई आउँदैन । मलाई युक्रेनी आउँदैन । इसारा र शब्दका टुक्राहरूले उसको भोक र शोक दुवै बुझायो ।

धन्न, बीच नजिकै बर्गर र फ्राइड चिकेन बेच्नेहरू थिए। हामीले उसलाई खाना खुवायौँ । बिल विक्रमले तिर्ने इच्छा व्यक्त गरे, मैले केही नगद थपेँ । “भोलि भेटौँला,” भन्दै बिहान चार बजे फर्कियौँ ।

हामी बिहान एघार बजे पुग्दा ऊ त्यहाँ थिएन । खाली बीचमा पैतालाका पदचाप मात्रै…। मनभरि पीडा र निराशा बोकेर हामी पनि फर्कियौँ । विक्रमले भन्यो, “बाजे, दुबईमा यस्ता धेरै छन् । जीवन चल्छ ।” तर मेरो लागि चलेन । म फुजेरा नै फर्किएँ ।
मनमा प्रश्नहरूको बाढी आयो । दुबई—धनी सहर—तर किन यस्ता पीडा लुकेका ? युद्धले हजारौँ किलोमिटर टाढा किन असर गर्छ ? म एउटा नेपाली, हेटौँडाको साधारण मान्छे । मेरो जीवनमा राजनीतिक द्वन्द्व त थियो, तर यस्तो युद्ध ? मलाई नेपालमा माओवादी द्वन्द्वको याद आयो—गाउँमा बन्द–हड्ताल, बमको आवाज । तर परिवार सँगै थियो । ऊसँग त सबै हरायो । तर सपना बाँकी भएर हो कि ?

मैले कल्पना गरेँ उसको जीवन—कीभका साँझहरू, नदी किनारमा खेल्ने बच्चाहरू । रुसका ट्याङ्कले सबै ध्वस्त। ऊ भाग्यो, डुङ्गा चढेर कालो सागर हुँदै । त्यसपछि इजिप्ट, साउदी हुँदै दुबई। अब यहाँ मागेर बाँच्न खोज्दैछ—भाषा नआउने, कागजपत्र नहुने । यहाँ युक्रेन, सिरिया, अफगानिस्तानबाट यस्ता धेरै शरणार्थी छन् । दुबईको कानुन कडा छ । अवैध शरणार्थी पक्राउ पर्छन् नै । तर सहयोग कठिन छ। मैले सोचेँ—सहयोग के हो ?
पैसा ?
खाना ?
वा सुन्ने कान ?
उसलाई सबैभन्दा धेरै चाहिएको थियो—कानहरू, जसले उसको पीडा र वेदना सुनिदिउन् ।
सायद भीडमा उसले परिवार कुरेको थियो होला । भेटेन, फर्कियो । यति टाढाको युद्धले हामीलाई दुःखी बनायो भने त्यहाँका मानिसको मनमा कस्तो ज्वालामुखी विस्फोट भएको होला ?

मैले फुजेरा यात्रामै आँखा बन्द गरेर कल्पना गरेँ उसको गाउँ—कीभको बाहिरी क्षेत्र, हरिया खेतबारीहरू, आँगनमा खेल्दै रमाइरहेका बच्चाहरू । अचानक रुसको आक्रमण, बमको वर्षा । घर भत्कियो । ऊ दौड्यो, परिवार समातेर । “भाग, भाग!” गोलीको आवाजसँगै त्रासमा हात छुट्यो होला । ऊ भाग्यो एक्लै । समुद्रको माझमा डुब्ने डर हुँदाहुँदै पनि सास छउञ्जेलको आशले होला, इजिप्ट पुग्यो, त्यहाँबाट दुबई । बीचमा बसेर समुद्र हेर्दा पनि आफ्नै परिवारको सम्झना आउला । घटना र कल्पनाका लहर सम्झिँदा मनले सोध्यो—“हामी यहाँ छौँ कि छैनौँ ?”

नेपालको सम्झनामा भन्ने हो भने, हाम्रो पनि द्वन्द्व थियो—दस वर्षे युद्ध, हजारौँ विस्थापित । तर हामी एउटै भाषा बोल्ने, संस्कृति साझा । ऊ विदेशी, तर पीडा उस्तै। मलाई लाग्यो—युद्धको सीमा हुँदैन । यो हाम्रो पनि कथा हो । दुबईको चमकले लुकाउँछ, तर पीडा सधैँ बाहिर निस्किन्छ ।
केही दिनपछि म फेरि जुमेराह गएँ, चिरञ्जीवीसँग । खोजेँ उसलाई, जहाँ हामीले छोडेर आएका थियौँ । एउटा पुरानो नेपालीसँग भेट भयो । कुराकानीकै बीचमा उसले भन्यो, “त्यसलाई त पुलिसले लगेको छ । अवैध रहेछ ।” मन भारी भयो । तर अमिलो मनमा आशाको मिठास आयो । मैले एनजिओ खोजेँ—युक्रेनी सहयोगका लागि—र मेल गरेँ ।

Дорогий Oleksandr,
Твої сльози зробили моє серце кислим. Блеск Дубаю був для тебе темрявою, але ти завжди сяй. Нехай родина повернеться. Нехай війна скінчиться.
Твій непальський друг।
(प्रिय अलेक्जेन्डर,
तिम्रो आँसुले मेरो हृदय अमिलो बनायो । दुबईको चमक तिम्रो लागि अँध्यारो थियो, तर तिमी सधैँ चम्किरहनु । परिवार फर्कोस्। युद्ध सकियोस् ।

उही
तिम्रो नेपाली साथी ।)

यो युद्ध होइन, मानवताको परीक्षा हो ।
एक हप्तापछि खबर आयो । परिवारको सुराक खोज्दै ऊ डिपोर्ट भएको रहेछ । युक्रेनको एउटा गाउँमा बच्चाहरू बाँचेका रहेछन् । आमा घाइते । ऊ परिवार लिएर दुबई फर्कने प्रयासमा रहेछ । यो भेटले मलाई सिकायो—दुबईको रौनकबीच पनि मानवता लुकेको हुन्छ ।

रुस–युक्रेनको युद्ध—लाखौँको आँसु। दुबईमा पनि त्यसैको छाया देखापर्‍यो । हाम्रो नेपालमा पनि भूकम्प, द्वन्द्व गएका र भएका थिए । पीडा सीमाविहीन भए पनि सहानुभूति जोडिने रहेछ । नयाँ वर्षको आतसबाजीपछि पनि अँध्यारो लुकेरै बस्ने रहेछ । तर जति नै रात भयानक भए पनि, केही समयको प्रतीक्षापछि मिर्मिरे बिहानी आउँछ नै ।

यो भेटले मेरो जीवन बदलिदियो । म फर्केर नेपाल आइपुगेँ, तर मन दुबईकै बीचमा अड्कियो । त्यो अनुहारले रातभर सताउँथ्यो । मलाई लाग्थ्यो—म एउटा साधारण पर्यटक थिएँ, तर उसको पीडाले मलाई पनि भावनाको शरणार्थी बनायो ।
अस्ति भर्खरै नेपालमा कैयौँको काख रित्तिने र वंश नै उजाडिने गरी सरकारले आफ्नै देशको भविष्य माथि गरेको बर्बर दमनले मलाई त्यो घटना फेरि सम्झाइदियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट