साहित्यले समाजलाई सचेत बनाउने माध्यम : भरतपुरमा दोस्रो बागमती साहित्य महोत्सव सुरु

भरतपुर, १६ जेठ ।
बागमती प्रदेशको सांस्कृतिक तथा साहित्यिक गौरवलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित चितवनको भरतपुरमा आजदेखि ‘दोस्रो बागमती साहित्य महोत्सव–२०८३’ भव्य रूपमा सुरु भएको छ । ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित आयोजित महोत्सवले साहित्यका माध्यमबाट समाजलाई सचेत, सिर्जनशील र जागरूक बनाउने लक्ष्य लिएको छ ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्यलाई मानव जीवनको यथार्थ चित्रण गर्ने सशक्त माध्यमका रूपमा व्याख्या गर्नुभयो । जन्मदेखि मृत्युसम्मका अनुभूति, पीडा र जीवनका विविध पक्षलाई साहित्यले जीवन्त ढंगले अभिव्यक्त गर्ने उल्लेख गर्दै उहाँले साहित्यबाट प्राप्त ज्ञानले विज्ञान र समाजको विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्र रहेका भाषा, लिपि, संस्कृति र संस्कारको संरक्षण तथा प्रवर्द्धन गर्दै ती सम्पदालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ ले चितवनको पर्यटन र साहित्यलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउनुभयो । चितवनका मौलिक संस्कृति, परम्परा र सम्पदालाई साहित्यिक गतिविधिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सकिने उहाँको धारणा थियो ।

त्यसैगरी बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले कला र साहित्यलाई राष्ट्रको आत्माको संज्ञा दिँदै समाज रूपान्तरणमा यसको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी ले भौतिक पूर्वाधारको विकाससँगै ज्ञान, चेतना, कला र संस्कृतिको विकासलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भरतपुरमा प्रदेशस्तरीय साहित्यिक महोत्सव आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै उहाँले लोपोन्मुख सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा साहित्यकारहरूको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

उद्घाटन सत्रमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, डा. लक्ष्मणप्रसाद गौतम, रामबाबु घिमिरे तथा नारायणप्रसाद अधिकारीलगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव बालकृष्ण थपलियाले गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्यका विविध विधा, समसामयिक विषय र सांस्कृतिक आयामहरूमा केन्द्रित बहस, छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिएका छन् । यसअघि धादिङमा सम्पन्न प्रदेशस्तरीय साहित्यिक भेलाको निरन्तरताका रूपमा लिइएको महोत्सव आइतबार विभिन्न साहित्यिक गतिविधिसहित सम्पन्न हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट