बागमती साहित्य महोत्सव–२०८३ चितवनमा सुरु, साहित्य र संस्कृतिको संगम

भरतपुर, १६ जेठ ।
‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) शुक्रबारदेखि चितवनमा सुरु भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा नारायणगढस्थित चितवन उद्योग वाणिज्य सङ्घको सभाहलमा महोत्सव सुरु भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपाली साहित्य विश्वमै समृद्ध र गौरवशाली रहेको उल्लेख गर्नुभयो । उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल तथा माधवप्रसाद घिमिरेलगायतका स्रष्टाले नेपाली साहित्यलाई उचाइमा पुर्‍याएको चर्चा गर्दै नयाँ पुस्ताका साहित्यकार, कलाकार र सर्जकहरू पनि साहित्यको समृद्धिमा सक्रिय रहेको बताउनुभयो ।

उद्घाटन सत्रमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । कार्यक्रममा रचनावाचन, शुभकामना मन्तव्यका साथै नेपालका विविध जातजातिको संस्कृति झल्काउने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । थारु समुदायको घैला नाच, नेवारी नृत्य, तामाङ, मगर तथा थारु समुदायका सांस्कृतिक प्रस्तुति र सारङ्गीको मधुर धूनले सहभागीलाई आकर्षित गरेको थियो ।

महोत्सवमा साहित्य, संस्कृति, पर्यटन तथा बागमती सभ्यताको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रिया, छलफल तथा विमर्श कार्यक्रम आयोजना गरिने भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालले बताउनुभयो ।

बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ ।

डिभिजन वन कार्यालय भरतपुर चितवनका प्रमुख एवम् महोत्सवका योजनाकार विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशको सांस्कृतिक विविधता, भाषा–साहित्य र मौलिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा साहित्य र संस्कृतिप्रति आकर्षण बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट