योगी नरहरिनाथ आश्रममा लिफ्टसहितको धर्मशाला बनाउने मुख्यमन्त्री बानियाँको घोषणा

भरतपुर, १६ जेठ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भरतपुर–आँपटारीस्थित योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा सुविधासम्पन्न धर्मशाला निर्माण गरिने बताएका छन् । शनिबार आफ्ना दुई मन्त्रीसहित श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञस्थल पुगेर दर्शन तथा पूजाअर्चना गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । यसअघि शुक्रबार अशोकराज सिग्देल ले पनि महायज्ञस्थल पुगेर दर्शन तथा पूजाअर्चना गरेका थिए ।

भक्तजनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले देश–विदेशबाट आउने श्रद्धालुहरूलाई लक्षित गरी लिफ्टसहितको आधुनिक धर्मशाला निर्माण आवश्यक रहेको बताए । साथै कथा–प्रवचनका लागि उपयुक्त भवनको अभाव रहेको उल्लेख गर्दै आगामी बजेटमार्फत आश्रम क्षेत्रको समग्र विकासका लागि विशेष व्यवस्था गरिने जानकारी दिए ।

उनले धार्मिक पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै सनातन धर्म, संस्कृति र परम्पराको संरक्षणमा महायज्ञले महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखे । वागीश्वरी क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले हालसम्म पूर्वाधार विकासमा दुई करोड रुपैयाँ खर्च गरिसकेको पनि उनले बताए ।

मुख्यमन्त्री बानियाँले योगी नरहरिनाथको तपोभूमिप्रति जनआस्था बढ्दै गएको उल्लेख गर्दै देवघाटधामको धार्मिक महत्त्व भारतको प्रयागराजभन्दा पनि उच्च रहेको दाबी गरे । कार्यक्रममा बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ तथा सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल पनि सहभागी थिए । मन्त्री पौडेल आश्रमकी सदस्यसमेत हुन् ।

यसैबीच, कोटिहोम महायज्ञअन्तर्गत शनिबारदेखि भजन प्रतियोगिता सुरु भएको छ । पहिलो दिन पाँच समूहले प्रस्तुति दिएका थिए, जसमध्ये तीन समूह फाइनल चरणका लागि छनोट भएका छन् । प्रतियोगितामा सहभागी हुन ३८ समूहले नाम दर्ता गराएको संयोजक अर्जुन सापकोटाले जानकारी दिए । प्रतियोगिताको फाइनल जेठ ३० गते हुनेछ ।

प्रतियोगितामा हरेक दिन पाँच समूहले प्रस्तुति दिने र उत्कृष्ट तीन समूहलाई फाइनलमा प्रवेश गराइनेछ । प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दुई सान्त्वना टोलीलाई सात–सात हजार रुपैयाँ प्रदान गरिनेछ । सहभागी सबै टोलीलाई प्रमाणपत्र र खैजडी उपहारस्वरूप उपलब्ध गराइने आयोजकले जनाएको छ ।

राष्ट्र शान्ति र विश्व शान्तिको कामनासहित गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ संयोजक एवं मुख्यकर्ता प्रेमनिधि भारद्वाजका अनुसार असार ६ गते नौ वर्षमुनिका १,००८ बालिकाको सामूहिक पूजन तथा असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको छ । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथा वाचन गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट