चितवन, १५ जेठ ।
रोटरी तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६/२७ का लागि आयोजना गरिएको “डिस्ट्रिक्ट टिम लर्निङ सेमिनार” तथा “ट्रेनिङ टिम लर्निङ सेमिनार” शुक्रबारदेखि चितवनको पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा सुरु भएको छ ।
“Lead with Integrity, Inspire with Vision, Serve with Leadership” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दुई दिने सेमिनारमा जिल्लाभरका रोटर्याक्ट पदाधिकारी, प्रशिक्षक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
कार्यक्रमको अध्यक्षता रोटर्याक्ट डिस्ट्रिक्ट रिप्रिजेन्टेटिभ रोटरी वर्ष २०२६/२७ का प्रकाश शर्मा गैरेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल री–इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले रोटर्याक्टमा आबद्ध युवाहरूलाई नेतृत्व, अनुशासन र सेवाभावमार्फत समाज परिवर्तनमा अग्रसर हुन प्रेरित गरे । उनले युवाहरूको सक्रियता र सकारात्मक सोचले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरे । साथै, रोटर्याक्ट युवाहरूका लागि नेतृत्व विकास र सामाजिक उत्तरदायित्व सिक्ने प्रभावकारी प्लेटफर्म बनेको धारणा राखे ।
सेमिनारमा विशेष अतिथि तथा प्रशिक्षकका रूपमा डीआरआर रोटरी वर्ष २०१९/२० स्नेहा शाक्य, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२०/२१ सबिक न्यौपाने, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२१/२२ हृषव जोशी, डिस्ट्रिक्ट लिडरशिप ट्रेनर रोटरी वर्ष २०२२/२३ सुनिल घिमिरे तथा रोटर्याक्ट डिस्ट्रिक्ट ट्रेजरर रोटरी वर्ष २०१९/२० पेसल भट्टराईले प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, प्रभावकारी टोली निर्माण तथा सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए । सहभागीहरूबीच अनुभव आदानप्रदान, अन्तरक्रिया तथा भावी कार्ययोजनामाथि छलफलसमेत गरिएको थियो ।
उद्घाटन सत्रमा राष्ट्रिय गान तथा रोटरी गीत प्रस्तुत गरिएको थियो । दुई दिने सेमिनार शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।





