स्त्री चेतनाको उदय र नयाँ युगको सङ्केत — ‘महायुग’

भरतपुर, १४ माघ ।
नेपाली लेखक सङ्घ चितवनले सीमा आभासको ‘महायुग’ उपन्यासको विमर्श गरेको छ । पाठकसँग लेखक कार्यक्रमको दोस्रो शृङ्खलामा महायुगमाथि विमर्श गरिएको हो ।

विमर्श कार्यक्रममा समीक्षक नरेन्द्र पौडेल र पत्रकार एवम् लेखक सूर्यप्रकाश कँडेलसँग कवि सामना पहाडले संवाद गरिन् । महायुग उपन्यास नारीवादी चेतनाबाट प्रेरित भए पनि नारीवादकै बहसमा सीमित नरहेको कँडेलले बताए ।

oppo_2

‘पुरुषसत्ताले युगौँदेखि दिएको सामाजिक, मानसिक र बौद्धिक पीडाको विरुद्ध मातृसत्तात्मक संसारको परिकल्पना प्रस्तुत गर्ने उपन्यास हो महायुग’, कँडेलले भने । महायुगमा सामाजिक परिवेश र सङ्घर्षसँगै स्वैरकल्पनाको संसार र स्त्री नेतृत्वको महायुगको निर्माणलाई समेटिएको उनले बताए ।

आधुनिक युगका तीन पुस्ताका महिलाहरुको नेतृत्वमा ‘अखण्ड स्त्रीभूमि’ र ‘स्त्रीयुग’ को स्थापना हुँदै पुरुषसत्ताको बहुरूपी छलको प्रतीक ‘स्त्रीकुचाल’ को अन्त्य उपन्यासको दार्शनिक उत्कर्ष बनेको पौडेलले बताए । `महायुग भौतिक विज्ञान र योग विज्ञान दुबैलाई समावेश गरी लेखिएको उपन्यास मात्रै होइन, क्रान्तिचेत पनि हो´, पौडेलले भने – `परिमार्जित चेतनाको जगमा आदर्श राज्यको स्थापनाको परिकल्पना गरिएको यो उपन्यासमा नारीवाद हुँदै मानवतावादको यात्रा आरम्भ गरिएको छ ।´

सहजकर्ता सामना पहाडले महायुग उपन्यास स्त्री पात्रलाई नायक बनाएर स्त्री चेतना, आत्मसम्मान, अस्तित्व र शारीरिक–आत्मिक शक्तिको जागरणलाई केन्द्रमा राख्दै पितृसत्तात्मक संरचनालाई चुनौती दिने कृति भएको बताइन् । `यसले सामाजिक, सांस्कृतिक, राजनीतिक र आध्यात्मिक विचलनको कारण र समाधान खोज्दै स्व–जागरण, सामूहिक संघर्ष र रूपान्तरणमार्फत स्त्री–शक्तिलाई “परिवर्तनको आद्यशक्ति” का रूपमा स्थापित गर्छ´, सामनाले भनिन् – `अन्ततः उपन्यासले पितृसत्ताको युग समाप्त भई स्त्री नायकत्वमा स्त्री–पुरुष सहअस्तित्वको नयाँ महायुग सुरु भएको सङ्केत गर्छ ।´

यो कृति विचार, विद्रोह, वेदना र म्याजिकल रियालिटीको संयोजनसहित नारी अस्तित्व र सामूहिक विद्रोहको गहिरो स्वर अभिव्यक्त गर्ने आधुनिक आख्यान हो । महायुगकी लेखक सीमा आभासले मन्त्र, तन्त्र र यन्त्रको व्याख्या गर्दै उपन्यासमा महिला र पुरूष पात्रहरुलाई सन्तुलितरूपमा प्रस्तुत गरिएको बताइन् ।

साहित्यकार एलबी क्षेत्रीले बुवा, श्रीमान र छोरालाई आदर्श मान्ने लेखक सीमाले महायुग उपन्यासमार्फत पुरुषलाई कमजोर देखाउन खोजेको दाबी गरे । `परम्परागत पितृसत्तात्मक शक्तिको एकाधिकारलाई प्रश्न गर्दै लेखकले स्त्री–शक्तिसँग सहअस्तित्वमा उभिने रूपान्तरणशील मानवीय चेतनाका रूपमा महायुगलाई पुनर्परिभाषित गर्न खोजेकी छन्´, क्षेत्रीले भने । महायुगमा कलात्मक पक्ष भबे सबलरूपमा आएको उनले बताए ।

नेपाली लेखक सङ्घ चितवनकी अध्यक्ष शान्ति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष लेखराम सापकोटाले सञ्चालन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट