निष्प्रभ सजीको `याली´ उपन्यासको चितवनमा अन्तर्क्रिया

भरतपुर, ६ माघ ।
लेखक निष्प्रभ सजीको नयाँ कृति `याली´ उपन्यासको अन्तर्क्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढसँगको समन्वयमा बुकहिल पब्लिकेसन्सले भरतपुरस्थित होटल सिराइचुलीमा सोमबार कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई बुकहिल पब्लिकेसन्सका प्रमुख भुपेन्द्र खड्काले सहजीकरण गरेका थिए । सम्पूर्ण किताबका लेखराम सापकोटाले पाहुनाहरूलाई स्वागत गरे । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन समयमा औपनिवेशिक शासन चलाइरहेको बेलायतले अर्को औपनिवेशिक मुलुक फिजीमा कामदारका रूपमा पुऱ्याएका नेपालीको कथाव्यथा यालीमा समेटिएको छ । स्थलगत अवलोकन गरेर लेखक सजीले बडो मेहनत गरेर यो किताब तयार गरेको खड्काले बताए ।

कार्यक्रममा लेखक निष्प्रभ सजीसँग भूपिनले संवाद गरेका थिए । रोजीरोटीका लागि जीवनभर हिँडाइमै सीमित भएका पात्रहरूको नियतिका सन्दर्भमा रहेर भूपिन र निष्प्रभले कुराकानी गरेका थिए ।

टिप्पणीकार सामना पहाडले प्रवासमा पुगेका नेपालीहरूको पीडादायी जीवनलाई लेखकले यथार्थपरक किसिमले यालीमा उतारेको बताइन् । `पश्चिमी उपमहादेश, विशेषतः फिजी टापुमा कामदारका रूपमा पुगेका नेपालीहरूको कथाव्यथा हो याली´, सामनाले भनिन् – `पुस्तान्तरणसँगै हराउँदै गएको पहिचानको समस्यालाई पनि यालीमा उतारिएको छ । डर, बिछोड र मानसिक पीडाले ग्रस्त मानवीय अवस्था यालीको महत्त्वपूर्ण पक्ष हो ।´

समालोचक रमेश प्रभातले डायस्पोरिक जीवनको एक्लोपन, अपमान र असुरक्षालगायतका विषयवस्तु समेटिएको बताए । `गन्तव्यविहीन जीवन र निरन्तर हिँडिरहनु पर्ने नियति यालीको विशेषता हो´, प्रभातले भने – `पाठकको मनमा गहिरो भावनात्मक प्रभाव पार्ने दुखान्त इतिहासको चित्रण यालीमा छ ।´

कास्कीको हेम्जामा जन्मिएका लेखक सजी सपरिवार अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । कविता लेखनबाट साहित्यमा स्थापित उनका `भूपरिवेष्ठित खुट्टाहरू´ र `इजलासमा लाहुरे फूल´ कवितासङ्ग्रह साथै `डार्लिङ हार्बर´ उपन्यास प्रकाशित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट